राजश्व संकलनका लागि नगरपालिका र उद्योग वाणिज्य संघ बीच सम्झौता


जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले राजश्व संकलनका लागि जाजरकोट उद्योग वाणिज्य संघ संग वार्षिक सम्झौता गरेको छ । नगर क्षेत्रभित्रको व्यवसायलाई व्यवस्थित गरि सबै किसिमको व्यवसायबाट कर उठाउनका लागि नगरपालिका र उद्योग वाणिज्य संघ विच सम्झोता भएको हो ।

उक्त सम्झौता अनुसार नगरपालिकाले संकलन गरेको जम्मा व्यवसाय करको ३० प्रतिशत रकम उद्योग वाणिज्य संघले पाउने छ । नगर क्षेत्र भित्रका अधिकांश व्यवसाय दर्ता नभएकाले व्यवसाय कर उठाउन समस्या भएको र सबै व्यवससायहरुलाई दर्ता प्रक्रियामा ल्याइ व्यवस्थित गरी राजश्व संकलनमा सहयोग गर्नका लागि उद्योग वाणिज्य संघसंग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

यस अघि साविकका स्थानीय निकायहरुले व्यवसाय कर नलिएको र स्थानीय तह भएपछि गत वर्ष पनि यसलाई व्यवस्थित गरि कर संकलन गर्न नसकिएकोले अहिले उद्योग वाणिज्य संघसंग समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले जानकारी दिए । अधिकृत वेल्वासेका अनुसार वाणिज्य संघले पाउने ३० प्रतिशत रकम प्रशासनिक क्षेत्रमा नभइ व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने ठाउमा प्रयोग गर्नु पर्नेछ ।

प्रक्रियागत रुपमा दर्ता नगरि व्यवसाय संचालन हुनले नगरपालिकाको राजश्ज संकलनमा कमि हुने मात्र नभइ अन्य व्यवसायीहरु पनि मर्कामा परेकोले यसलाई व्यवस्थित गर्न नगरपालिकासंग सम्झौता गरिएको वाणिज्य संघका अध्यक्ष कर्ण खत्रीले बताए । राजश्व अभिबृद्धि तथा संकलनका लागि दुवै पक्षबाट सदस्य रहने गरी ५ सदस्यीय एक समिति गठन गर्ने, नगरलाइ बुझाउनु पर्ने कर अनिवार्य रुपमा समयमै बुझाउन संघले व्यवसायीहरुलाई अभिप्ररित गर्ने लगाएतका विषय सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतामा भेरी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्वासे र उद्योग वाणिज्य संघको तर्फाबाट अध्यक्ष कर्ण खत्रीले हस्ताक्षर गरेका छन ।


samjhauta-patra