संकटग्रस्त काँग्रेस र जननायक विपी


                जनक केसी ,  गत वर्षको वैशाख देखि मंसिर पुस सम्मको समय नेपाली काँग्रेसको लागि ऐतिहासिक रुपमै सुखद देखिएन । इतिहासको गर्विलो सान गत वर्षको ६ महिने अवधिले कम्जोर वनाउदा गएको डेढ वर्ष देखि नेपालको पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेस नैतिक एवम भौतिक दुवै कोणवाट संकटमा परेको छ ।

एकातर्फ चुनावी हारपछि पनि आन्तरिक संगठन गतिशील र मजवुत वनाउन नसक्नु अर्काे तर्फ वाहिरी रुपमा शसक्त प्रतिपक्षको भुमिका र वाम सरकारका विरोध गर्न लायक काम अथवा कम्जोरीहरुवाट फाइदा लिन नसक्नु दुवै कारणले काँग्रेस यति वेला नैतिक र भौतिक दुवै रुपले संकटमा छ । नेपालको राजनीतिमा सधै स्थिरताको कारण काँग्रेस नै हो भनेर लगाइने आरोप अहिले दुइ तिहाइ वहुमत प्राप्त वाम सरकारतिर तेर्सिएको छ तर पनि काँग्रेस यसको फाइदा उठाउने गतिलो जोहो गर्दैन । यसवारे शसक्त आवाज वाहिर निकाल्न नसक्ने काँग्रेस देखेर नेतृत्व र नीति दुवै प्रति काँग्रेसको समर्थन र आलोचना गर्ने सवैले थरी थरीका प्रश्न र आलोचनाहरु उव्जाइरहेका छन् ।

इतिहास लेखेर मात्र हुदैन त्यसलाइ जोगाउन सक्नुपर्छ भन्ने कुरा आज काँग्रेसका एकाध कार्यकर्ताहरुले मात्र होइन सिंगो पार्टीले नै भुलेको अनुभुति सर्वत्र छ । काँग्रेसी कार्यकर्ताहरुले इतिहास रच्न र लेख्न सिके तर त्यसलाइ जोगाउन सिकेनन् भन्ने आरोप वाहिर मात्र होइन आफनै पार्टी सर्कल भित्र पनि चर्काे रुपमा लागिरहेको छ । लोकतन्त्र जन्माइनु ठुलो कुरा भएन त्यो लोकतन्त्र लोकको भयो कि भएन भन्ने चिन्तन महत्वपुर्ण हो । आज यो चिन्तन विपीले नेपालको सन्दर्भमा प्रतिपादन गरेको वहुलवादमा आधारित प्रजातान्त्रिक समाजवादसंग अन्तरसम्वन्धित छ । राणा ढलेर पनि जनता असन्तुष्ट, राजा फालेर पनि जनता वेखुसी जनताकै हातले संविधान लेखेर पनि उहि असन्तुष्टि किन? भन्ने प्रश्न आज प्रत्यक नागरिकहरुसंग छ ।

जनताको दिल दिमागमा यत्रो वलिदानवाट जन्मिेको लोकतन्त्र प्रति असन्तुष्टि लुकाउन नसकिने अवस्थामा पुगिसकेको छ । यसको जवाफ दिने पहिलो दायित्व काँग्रसकै हो । आज सम्मका सवै क्रान्ति र संघर्षहरुको नेतृत्व काँग्रेसले नै नै गरेका कारणले सवै सवालहरुको जिम्मेवारीपुर्ण जवाफ काँग्रेसले नै दिनुपर्छ भन्ने हो तर यो कुराको हेक्का आज काँग्रेसले भुल्यो भन्ने आरोप पनि छ । लोकले वोलोस या नवोलोस नेपालको लोकतन्त्रको असली हिरो काँग्रेस नै हो तर अहिले हिरोको रोल पाएर र पनि भुमिका गतिलो गर्न नसकेको हो या पालो पर्खाइएको हो यसको खोजी पनि काँग्रेसले गर्नु पर्छ ।

शुसील कोइरालाको नेतृत्वमा जारी भएको जनताको संविधान प्रति असन्तुष्ट भारतले लगाएको नाकावन्दीको फाइदा उठाएर तत्कालीन एमालेले आफनो इतिहास नै वदल्यो तर ७० वर्ष पुरानो जनताको आफनै हातले संविधान लेख्ने चहाना पुरा गराएको काँग्रेसले आफनो इतिहास भत्कायो । इतिहासको कठिन मोडमा किन गयो काँग्रेस भन्ने वारे न घर भित्र गतिलो समीक्षा र वहस छ न वाहिर ताकतिलो ढंग छ । पार्टीका नेता केन्द्र देखि जिल्ला वडा सम्म गुट निर्माणमा लागे सिंगो अनि मजवुत पार्टी निर्माणमा लागेनन् । नाममा पार्टी एउटै भएपनि व्यवहारमा फुटेको जस्तो सधैं भइरहयो ।सधै विपी गणेशमान र किशुनजीको नाम भजाएर राजनीती गर्ने चलन भयो । नेताहरुको तर्फवाट एकिकृत पार्टी निर्माणको पहल हुन सकेन ।

नेताहरु आफनो वलियो गुट वनाउन लागे तर वलियो पार्टी वनाउन लागेनन् । कार्यकर्ताहरु पार्टीमा गुटउपगुटको विरोध गर्न छोडेर नेताको प्यारो वन्ने र गुटहरुमा विभाजित हुने ध्यानमा सक्रिय हुन थाले । पार्टीले भोगिरहेको संकटको वारेमा आज भदौ २४ गते विभिन्न वुटटाले भरिएका गन्थनमन्थन गर्दै काँग्रेसका शिर्ष नेता देखि तल्लो तहका कार्यकर्ता र मतदाताले समेत पार्टीका सँस्थापक एवम जननायक विपी कोइरालाको परिचय, योगदान र सिद्धान्तका वारेमा नानाथरी गीतहरु गाइरहेका छन् ।कोहि भन्छन् विपी दुरदर्शि हुनुहुन्थ्यो, कोहि भन्छन् विपी लोकप्रिय हुनु हुन्थ्यो, कोहि भन्छन् विपीले लिएको वाटो लोकतन्त्र र राष्ट्रियता दुवै मजवुत वनाउने खालको थियो । अनि कोहि प्रश्न गर्छन् विपीले हिडेको वाटो काँग्रेसले किन भुल्यो? विपीले जन्माएर तन्नेरी वनाइदिएको काँग्रेस किन रोगी भयो ? अनि कोहि कोहि भन्छन् विपी नहुदा काँग्रेस अरुकै वाटोमा हिड्यो । कोहि भन्छन् आज विपीको अभाव काँग्रेसलाइ भन्दा वढी देशलाइ खड्केको छ । विपी को हुन ? विपी कस्ता थिए ? विपीको अभाव देशलाइ कति खड्केको छ? त्यो हामीले भनिरहनु पर्दैन समय र ऐतिहासिक घटनाक्रमहरुले काँग्रेसीहरुलाइ मात्र होइन वामपन्थीहरुलाइ समेत सवै अनुभुत गराउदै गएका छन् । अर्काेतिर वजारिया हल्ला सुन्ने हो भने अहिले काँग्रेस अस्तित्व वचाउने अवस्थामा पुगिसकेको छ ।

वजारमा सुनिन्छ सधै उन्मादमा मात्तिन वानी परेका काँग्रेसी नेता कार्यर्ताहरु जस्तो सुकै झट्का खाएपनि सुध्रिने संकेत देखिदैन । यहि नै काँग्रेसका लागि सवै भन्दा ठुलो दुर्भाग्य वनेको छ । स्थानीय र संसदीय चुनाव भएको लामो समय वितिसक्दा पनि जनताको घरमा गएर काँग्रेसले जनतालाइ सोधेको छैन कि काँग्रेस हार्नुको कारण के हो ? देशवाट राणा, राजा, र हिंसा अन्त्यका लागि नेतृत्वदायी आन्दोलन गर्ने मात्र होइन जनताको हातले संविधान लेख्ने अभुतपुर्व कामको नेतृत्व गर्दा समेत किन काँग्रेसलाइ अस्तित्व वचाउको अवस्थामा पुरयाए जनताले ? राजा फाल्ने आन्दोलनको नेतृत्व दिने, राणा फाल्ने क्रान्तिको नेतृत्व दिने , संविधान लेख्ने अभियानको नेतृत्व दिने तर समृद्ध नेपाल निर्माण अभियानको नेतृत्व किन नदिने भनेर जनताको घर घरमा गएर काँग्रेसले चुनाव सकिएको डेढ वर्ष सम्म पनि सोध्न सकेको छैन ।

चुनावी परिणामले काँग्रेस भौतिक र नैतिक रुपमा पार्टी खुम्चिएको छ तर नेता कार्यकर्ताहरु कोहि विलासी वन्दै वसेका छन् कोहि गुट निर्माण गरेर रहेको काँग्रेस पनि सिद्धयाउने दाउमा लागेका छन् । पार्टी नैतिक र भौतिक दुवै हिसावले संकटमा छ तर नेता कार्यकर्ताहरुमा कुनै चिन्तन र सक्रियता देखिदैन अहिले पनि । अहिले काँग्रेस नेतृत्व सत्ताधारी दलसंग वैचारिक र नैतिक ढंगले प्रतिष्पर्धा गर्ने गतिलो एजेन्डा विहिन भएको आरोप छ । जनताको घरमा गएर आफुलाइ चुनाव हराउनुको कारण पनि सोध्दैन काँग्रेस । अहिले पनि काँग्रेस न आफनो कम्जोरीको वैज्ञानिक समीक्षा गर्छ न जनतावाट घरघरमा पुगेर उचित पृष्ठपोषण माग्छ । हिजोको प्रतिवन्धित अवस्था होस या हिंसात्मक राजनीतीका वेला होस पार्टीको अस्तित्व वचाउन देशका कुना कुनामा मुठठी उठाउने वहादुर काँग्रेसीहरु खोइ?लोकतन्त्र प्राप्तिका सवै संघर्ष र वलिदान अनि आन्दोलनहरुका हरेक मोड र अप्ठेराहरुमा जीवन र परिवारको भविस्य हत्केलामा राखेर चारतारे झन्डा वोक्न हिम्मत गर्ने काँग्रेसी कार्यकर्ताहरु खोइ ?

पार्टीका निम्ति मर्नेहरु, पार्टीलाइ जीवनको मुख्य मार्ग र आदर्श मानेर हिड्ने नेता कार्यकर्ताहरुको उचित मुल्यांकण र पार्टीका क्यान्सर रुपी गुटहरु अन्त्य गर्न हिम्मत देखाएको खोइ ? जनताका लागि राणासंग अधिकार खोसेको, पन्चायत संग लोकतन्त्र खोसेको र राजाहरुसंग लुटिएको गणतन्त्र खोसेर चुुलिएको काँग्रेसी सान आज एक पटकको चुनावले कम्जोरिएकै हो त? काँग्रेसले विपीको साँचिक्कै वाटो भुलेकै हो त? यी र यस्तै हजार प्रश्नहरु काँग्रेसका नेता र कार्यकर्ताहरुलाइ सोध्दै गर्दा आम काँग्रेसीहरुले मात्र होइन राजनीतीमा लागेका र राजनीति वुझेका सवैले विपी कोइरालालाइ एउटा छुटटै कोणवाट सम्झीरहेको भने सत्य हो । जसको परिकल्पना र सपनाले आजको यो लोकतान्त्रिक गन्तव्य हासिल भयो ।

जवरजस्त रुपमा काँग्रेसको विरोध गर्नेहरु हुन या विपीको आलोचना गर्नेहरु हुन उनीहरुको आत्माले पनि विपीलाइ एकान्तमा महापुरुषको संज्ञा दिएर समरण गर्ने गर्छ । विपीको घरको भित्तामा कोरिएका शव्दहरुले झल्काउने उनको सादगी आचरण होस या उनको उत्कृष्ट राजनैतिक छवि होस आज सवैका लागि प्रेरणाको श्रोत छ । काँग्रेसीहरुले विपीको जीवन शैली या राजनैतिक चरित्र आफनो व्यवहारमा लागु गर्न नसकेका कारण पार्टी अप्ठरोमा परेको भन्ने आरोप छ ।काँग्रेसी नेता कार्यकर्ताहरुले विपीको आदर्शवादी चरित्र र स्वभावलाइ वैचारिक रुपमा अनुशरण नगरेका कारण पनि यो सकंट आएको हो ।

मन्च पाएको वेला विपीको नाउँमा दुइ चारवटा जोशिला नाराहरु लगाउदैमा काँग्रेस गतिशील वन्दैन भन्ने कुरा काँग्रेसीहरुलाइ कसले वुझाइदिने ? विपीको समाजवाद मुखले कण्ठ पार्दैमा काँग्रेस अहिलेको राजनैतिक संकटवाट पार पनि लाग्दैन भन्ने कुरा कसले भनिदिने ? राजनैतिक संकट होस या लोकतन्त्रको वहसका सवै मोडहरुमा काँग्रेसीहरु सयौं पटक विपीको नाम स्मरण गर्छन् तर उनको वाटो पछयाउदैनन् । मुलुकका सवै निरंकुसतासंग लड्ने कुरा होस या राजालाइ जननियन्त्रित गर्ने कुरा होस या नेपाली राजनितीमा दुरदर्षिता देखाउने कुरा होस विपी सवैका प्रेरणा र आस्थाका केन्द्र हुन् कसैले मानुन् या नमानुन् । नेपाल भारत वा नेपाल चिन सम्वन्धको विषय होस या नेपाली सर्वहारा जनताको हित र उन्न्नतिका लागि राजनीतीमा एउटा दुरदृष्टि निर्माण गर्ने कुरा होस सवै कुरामा आज विपीको नाम र काम अनुकरणीय छ ।

जुन मनले विपीको स्मरण गर्छ त्यो मनले विपीले गरेको राजनीती सम्झन्छ, जुन दिमागले विपीलाइ चिन्दछ त्यो दिमागले नेपालको वास्तविक समस्या पहिचान गर्दै एउटा असल राजनेताको खोजी गर्दछ । नेपालको समस्या नेपालकै शक्तिहरुको पहलमा हल गर्नुपर्छ भन्ने राष्टवादी चिन्तनको कुरा होस या हरेक नेपालीको घरमा आर्थिक सवलता देख्ने उनको अव्वल परिकल्पना होस दुवै अहिले हामीले ल्याएको लोकतन्त्रका पुर्ण गन्तव्य हुन् । इतिहासले देखाएको कम्जोरी र विपीले हिडेको राजनीतिको वाटो अव पनि काँग्रेसले पत्ता लगाउन सकेन भने उसका लागि अझै ठुलो संकटको घडी नआउला भन्न सकिन्न ।

लेखक : नेपाल प्रेस युनियन जाजरकोटका पुर्व अध्यक्ष हुन ।