आउनुस् मृत्यु उत्सवमा, निर्मलाको रगतको चिया पिऊँ


अखबार चियाउँछ ढोकामुनिको चरबाट
हजुर टपक्क टिप्नुहुन्छ
ऐय्या! कस्तरी निमोठेको घाँटीमै
अखबारको गुनासो कहिल्यै पुग्दैन हजुरको कानसम्म
एयरफोन लाएर सुनिरहनुहुन्छ
‘फेरि अर्को बलात्कार…. अपराधी फेला परेनन्….’
घण्टैपिच्छेका बुलेटिन दोहोर्‍याइरहनुहुन्छ
आज मैले पनि खबर पठाएकी छु
पल्टाउनुस् त अखबार!

‌‌‍+++

भान्सामा उम्लिरहेछ सुकमेल चिया
लसक लसक लस्किनुहुन्छ बगैँचातिर
कपको घुमेको बिँडमा चोर औंला घुसार्नुअघि
कलिला दुबोमाथि नाङ्गो पैताला दलिरहनुहुन्छ
सँधै त यस्तै गरिरहनुहुन्छ हजुर
आज केही फरक गरौं न!
अखबारमा एउटा निम्ता छ

‌‌‍+++

चिया कस्तो लागिरहेछ?
गुलियो? स्वादिलो? बास्नादार?
पक्कै छ
किनकि यो चियामा हालेको चिनी
म मारिएको उखुबारीको होइन
यता हेर्नुस् त!
यी उखुका लाँक्राहरु म मडारिँदा भाँचिएका
मेरै रगत लतपतिएका
यी लाँक्राहरु कति राता छन् देख्नु भो?

‌‌‍+++

पेलेर हेर्नुस्
यो उखुबाट रस होइन आँसु बग्छ मेरो
हजुरलाई टक्रयाउँ?
कि यो बारीको उखुजति सप्पै मासेर चिनी जमाउँ
निम्ता पढ्नु भो?
आज लाशहरुको उत्सव छ
म, माया, नमिता, सुनिता….
अरु धेरै धेरै साथी सँगै छौं
हाम्रो मृत्यु-उत्सवमा आउनुहोला
म उही उखुबारीको चिनी हालेर ‘रातो’ चिया पिलाउँछु

पहिलाेपाेस्टवाट साभार