पेट र छाती जाेडिएका जुम्ल्याहा बालिका जन्मिए


सुर्खेत, ३ मंसिर । शल्यक्रिया गरेर पेट र छाती जोडिएका जुम्ल्याहा बालिका जन्मिएका छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन् ।

कालिकोटको रास्कोट नगरपालिका– ५ की २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिका जन्माएकी हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटिएका डा. राजीव शाह नेतृत्वमा डा. रवीन खातुङ, डा. महेश पौडेल र नर्स विनिता बस्यालसहितको टोलीले शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा.राजीवले बताए ।

उनका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनले बताए ।

“पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा. शाहले भने, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उनले बताए ।

ललितालाई चार दिनसम्म कालीकोट अस्पतालमा राखेको उनका पति विर्खबहादुर बुढाले बताए । अस्पतालले पठाएपछि उनले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याएका थिए । सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको विर्खले बताए ।

उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिए ।  “एकातिर खुशी छु तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ”, बुढाले भने । बालिकाको जीवन बचाइदिन उनले सहयोगको याचना गरेका छन् ।