कम्युनिष्ट राजनीतिमा चीन र पश्चिमा मुलुकको प्रभाव



हुन त नीति, नियम, ऐन, कानुन र संविधान निर्माण गर्ने निर्माताहरुले बेला बखत समयको क्रम फेरबदल भएसँगै देश र दुनियाँका लागि अनुकुल पारेर फेरबदल गरिरहेका हुन्छन् । यो कुरा नेपालको सन्दर्भमा मात्रै नभएर अधिकांश देशका नीति, नियम, ऐन, कानुन र संविधान निर्माता एवं उक्त देशका नागरिकहरुको हकमा लागु भएको पाईन्छ । नीति, नियम, ऐन, कानुन र संविधान एउटा कसिलो बन्धन पनि हो । जसले कानुन वा नीति, नियम विपरित कार्य गरे गराए सजाएको भागिदार बन्नुपर्दछ । त्यसरी नै नीति, नियम, ऐन, कानुन र संविधान चलाउँदै, चल्दै आएका छन् ।

तर वाद वा सिद्धान्तको हकमा यो कुरा विरलै लागु भएको पाईन्छ । वाद कुनै देश वा दुनियाँका निम्ति अनिवार्य हुँदैन । वाद त केवल व्यक्ति, व्यक्तिहरुको झुण्ड, गुट, उपगुट, पार्टी र दलको वैचारिक अथवा सैद्धान्तिक रुपमा ओकालत गर्ने कुरा न हो । जसले नैतिक, व्यवहारिक र सोही वादबाट निर्मित सामान्य नीति, नियमको परिपालना गरेको, गराएको हुन्छ र त्यसरी नै वाद र वादीहरु चलेको पाईन्छ ।

नेपाली राजनीतिमा विभिन्न वादहरु निर्वाध रुपले चलिआए पनि निचोडमा वाद एकातिर वादीहरु अर्कोतिर भौतारिएको हामीले देखेकै छौं । नेपाली राजनीतिमा वादहरु जेजति प्रयोगमा आएता पनि कम्युनिष्टहरुको सन्दर्भमा कम्युनिष्टवाद कोरा र अव्यवहारीक भएको पाईन्छ । कतै प्रयोगमा नआएको त हैन तर प्रयोग केवल आफू र आफ्नो पार्टी अनुकुल बमोजिम प्रयोगमा ल्याएको देखिन्छ ।

यसै सन्दर्भमा नेपालमा कम्युनिष्ट शासन वा सिद्धान्त लागु भएको लामै इतिहास नभए पनि ६८ वर्ष भने पूरा भईसकेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थपाना २००६ साल वैशाख १० गते भारतको कोलकत्ता स्थित श्याम बजारमा भएको हो । सो पार्टीको स्थापना गर्ने श्रेय भने पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठलाई जान्छ । उनीहरुले उक्त पार्टीको स्थापना गरेको दुई दिनपछि अपिल गरे । उक्त अपिलमा भनिएको थियो,  -‘सामान्ति शासनको अन्त्य गर्ने, जनताको पूर्ण नागरिकको प्रत्याभूति गर्ने, जनताको पूर्ण नागरिक स्वतन्त्रताको प्रत्याभूति गर्ने, किसान र मजदूरको सरकार गठन गर्ने र सामान्तवाद साम्राज्यवाद विरोधी नवप्रजातन्त्र ल्याउनका लागि कम्युनिष्ट पार्टी स्थापना गरिने आदिबारे उललेख गरिएको थियो ।’ किनकि त्यो कालखण्डमा राणा शासनको दबदबा थियो । त्यही दबदबा शासन पद्धतिलाई चुनौति दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

तर उनीहरु कताको वादबाट प्रभावित भएका थिए भन्नेबारे प्रशस्त प्रमाण नभए पनि उनीहरु केही पश्चिमा मुलुक भन्दा पनि पूर्वीय मुलुक चीनका राजनीतिक चिन्तक एवं राजनीतिशास्त्री, दार्शनिक माओबाट प्रभावित भएको पाईन्छ । उनीहरुबीच कोही पश्चिमा मुलुकका दार्शनिक अरस्तु, इमानुयल कान्ट, रुसो, हिगेल, जेएस मिल जस्ता राजनीतिक चिन्तक एवं दार्शनिकका वाद आदिबाट प्रभावित भएको पाईन्छ ।

गोविन्द वैद्य, नारायण विलास जोशीले २०११ मा त्यो बेलाको भारतको प्रसिद्ध दैनिक पत्रिका भारतपत्रमा खुलेर पश्चिमा दार्शनिक एवं राजनीतिशास्त्री अरस्तु, इमानुयल कान्ट, रुसो, हिगेल, जे.एस. मिलकाबारे खुलेर प्रशंसा गरेका छन् । यी द्वेय नेता वैद्य र जोशीको अन्तरवार्ताबाट बुझिन्छकी उनीहरु पश्चिमा राजनीतिबाट प्रभावित भएका हुन् । नेता वैद्यले चीनका माओको दर्शन वा वाद केवल सर्वहारालाई उक्साउँने र पुजिवादलाई कतै न कतैबाट संरक्षण गर्ने भएकोले माओको सिद्धान्त कोरा भनेका छन् ।

चाहे पूर्वीय राजनीतिकका हुन् चाहे पश्चिमा एवं युरोपियन मुलुकका हुन् । सदियौं पुराना दार्शनिकका दर्शन, राजनीतिक चिन्तकका विश्लेषण र सिद्धान्त परिमार्जन गरेर प्रयोगमा ल्याउने तर स्वयं आफैले नवीनतम् सिद्धान्त प्रतिपादन गर्न नसक्नुले नेपाली कम्युनिष्ट राजनीतिको सेरोघेरो उनै पश्चिमा र युरोपियन राजनीतिसँग मिल्दोजुल्दो हुने गरेको पाईन्छ । जसलाई आजका नयाँ पुस्ताले पुनः प्रयोगमा ल्याउँन खोजे कम्युनिष्ट वाद नै धरापमा पर्न सक्छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालको ८ वर्षपछि अर्थात २०१४ सालमा चुनावमा भाग लियो । त्यपछि २०२० तिर भूमिसुधार नारायणमान विजुक्छेको अगुवाईमा भयो र त्यो समयमा विशेषत नेपाल कम्युनिष्ट पार्टी सोभियत कम्युनिष्ट पार्टीसँग सम्बन्ध बढेको पाईन्छ । तर कम्युनिष्ट पार्टीका केही नेताहरु विष्णुबहादुर, बर्मा आदि रुसी कम्युनिष्ट पार्टीबाट प्रभावित थिए । यद्यपि समय क्रमसँगै उनीहरु पनि लाइमलाइबाट पलायन हुँदै गए । त्यपछि केही लाइमलाइनबाट पलाएन भएकाहरु २०२३ तिर टाइमलाइनमा जब आए । त्यसपछि उनीहरुमा माओको प्रभाव पर्न थाल्यो । माओको प्रभावसँगै नेपाली कम्युनिष्ट राजनीतिमा चिनीयाँकै प्रभावको बर्चस्व बढ्न थाल्यो । तत्पश्चात माले, मसाल, एमाले आदि हुँदै माओवादीसम्म गठन भयो ।

अन्ततः अहिलेका नेपालका कम्युनिष्टहरु पनि चीन र चीनका राजनीतिशास्त्री माओको वादबाट प्रभावित भएको पाइन्छ । तर चीन जस्तो सम्रान्त मुलुकबाट सिद्धान्त मात्रै सिक्ने कि ? त्यहाँको अर्थतन्त्र, समृद्ध देश, विज्ञान र प्रविधिसँग पनि उतिकै निकट हुने ?

-नरेश राना, राजनीतिशास्त्र विभाग त्रि. वि. काठमाण्डौं ।