त्रि. वि. का प्रोफेसर डाक्टरको शिक्षण गुगलको भरमा


        त्रिभुवन विश्वविद्यालय, वा ! नामै सुन्दा कोही कसैको पनि श्रद्धाले शिर निहुँरिन्छ । गर्वले ढक्क चौडा भएर छाती फुल्छ । भित्रभित्रै मन, मष्तिस्क मन्थन हुन्छ र फोकटमा बोल्न, भन्न जो कोहीमा हिच्किचावट आउँछ । किनकि विश्वका विविध भाषाभाषी, कला, साहित्य, प्रविधि, ज्ञान, विज्ञान आदिकाबारे हरेक देशका विज्ञ एवं प्रोफेसर, डाक्टरहरुले अध्यापन गराउने विश्वविद्यालय हो, ‘त्रिभुवन विश्वविद्यालय ।’ यो भन्दा बढि बख्याँई गरियो भने सरासर उक्त विश्वविद्यालय माथि फोकटमा पण्डित्याईं गरिएको ठहरिने छ, हगी ?

नेपाल अधिराज्यको सबैभन्दा जेठो र ठूलो शैक्षिक संस्था एवं विश्वविद्यालय हो, त्रिभुवन विश्वविद्यालय । यसको स्थापना वि. सं. २०१६ सालमा भएको हो । यसको केन्द्रिय कार्यालय कीर्तिपुर, काठमाण्डौंमा रहेको छ । यसअन्तरगत पाँचवटा प्राविधिक र चारवटा साधारण संकाय छन् । यसअन्तरगत झण्डैं ५० वटाभन्दा बढी प्रमाणपत्र तहसम्मको शिक्षा प्रदान गरिरहेको छ । त्यस्तै एक सय ६९ शीर्षकमा स्नातक एवं एक हजार शीर्षकमा स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गराउँदै आएको छ । यसकासाथै पिएचडीसम्मको शिक्षा पनि प्रदान गराउँदै आएको छ ।

यस विश्वविद्यालय अन्तरगत देशैभर झण्डै नौ सय ३१ भन्दा बढी नीजि क्याम्पसलाई समेत सम्बन्धन दिईसकेको छ । ३८ केन्द्रिय विभाग समेत गरि ६० वटा भन्दा धेरै आंगिक क्याम्पस रहेको त्रिभुवन विश्वविद्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यी विभिन्न संकायमा पाँच लाख भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । कर्मचारी भने झण्डै १५ हजार कार्यरत छन् ।

यस विश्वविद्यालयका कुलपति वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् भने उपकुलपति तीर्थराज खनियाँ हुन् ।
यस विश्वविद्यालयको मुख्य धेय दक्ष एवं क्षमतावान् नागरिक तयार पार्नु हो । यसका लागि राज्यले वर्षेनी अरबौ रकम समेत विनियोजन गर्ने गरेको छ । उक्त रकम विश्वविद्यालयको भौतिक तथा प्रशासनिक कार्यका साथै तलब, भत्तामा खर्च हुने गरेको पाईन्छ । यो विषय विद्यार्थीहरुका लागि त्यति महत्वपूर्ण हैन । महत्वपूर्ण हो, अध्ययन र अध्यापन । अध्ययन र अध्यापन सेमेस्टार शैक्षिक प्रणाली लागु हुनु पहिले के कस्तो थियो ? त्यो हिजोको विद्यार्थी पुस्तालाई जिम्मा दिए है ?

वि. सं. २०७० सालमा लागु गरिएको वर्तमान सेमेस्टार शैक्षिक प्रणाली मुलतः वर्तमान अवस्थाको शैक्षिक प्रणाली र विधिलाई वैज्ञानिक एवं व्यवहारिक ढंगबाट बडवा वा टेवा पुर्याउन लागु गरिएको हो । यसको उद्देश्य देशकालागि दक्ष, क्षमतावान् एवं कुशल नागरिक तयार पार्नु नै हो ।

बिडम्बना, त्यसो हुन सकेको छैन । सेमेस्टार शैक्षिक प्रणाली जसरी वर्तमान अवस्थामा देशलाई संघीय राज्य प्रणाली घाँडो बनेको छ । हो, दुरुस्तै त्रि. वि. लाई पनि सेमेस्टार शैक्षिक प्रणाली त्यसरी नै घाँडो भएको छ । यतिसम्मकी त्रि. वि. का दिग्गज प्रोफेसर डाक्टर पनि सेमेस्टार शैक्षिक प्राणाली भनेपछि खिन्न मनले नाक खुमच्याउँछन् । यो शैक्षिक प्रणाली लागु भएको झण्डै ६ वर्ष पुग्दासम्म त्रि. वि. ले स्पष्ट शैक्षिक कार्यनीति र पाठ्यक्रम, पाठ्यपुस्तक तयार पारेको देखिदैन । यसको मुल कारण हो, हचुवाको भरमा सेमेस्टार शैक्षिक प्रणाली लागु गर्नु । हुन त यो शैक्षिक प्रणाली लागु हुनैपर्छ । किनकि प्रोफेसर, डाक्टर र विद्यार्थीहरुको तादम्यता र पढाईमा अत्यन्तै सुधार आउँछ । नियमित अध्यापन र पठनपाठनले विद्यार्थीहरु क्षमतावान् र दक्ष हुने गर्दछन् । जसले गर्दा भोलिको शैक्षिक जगत, देशको भविष्य कोर्न सक्ने आज पढ्दै, लेख्दै गरेको विद्यार्थी पुस्ता हो । यसकालागि त्रि. वि. मात्रै नभएर देशैभरका विश्वविद्यालय, एवं क्याम्पसहरुमा समेत नियमित पठनपाठन र पाठ्यक्रम वैज्ञानिक एवं व्यवहारिक हुनुपर्दछ । यसकालागि विषयवस्तुमा आधारित अर्थात् सम्बन्धित विषयमा दक्ष एवं अनुभवी प्रध्यापक डाक्टर हुनुपर्छ । जसअनुरुप पाठ्यक्रम र पाठ्यपुस्तक पनि तयार हुनैपर्छ ।

विषय वस्तुमा आधारित पाठ्यक्रम तयार नभएका होइनन्, सम्बन्धित विषयमा दक्ष एवं क्षमतावान् प्रोफेसर डाक्टर नभएका पनि होइनन्, भएर के गर्नु ? कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ । नेपालको केन्द्रिय अर्थात् संघीय राजधानी काठमाण्डौंमा रहेको विभुवन विश्वविद्यालय जस्तो सुविधा सम्पन्न, उच्च गरिमा भएको विशाल विश्वविद्यालयमा सर्वप्रथम सेमेस्टार शैक्षिक प्रणाली वि. सं. २०७० सालमा लागु भएको हो । भने देशैभर यसै वर्षबाट लागु भएको हो ।

सेमेस्टार लागु भएको झण्डै ६ वर्ष पूरा भईसक्दा पनि यहाँको शैक्षिक अवस्था लथालिङ्ग भएको देख्न पाईन्छ । अघि भनेझैँ त्रि. वि. लाई साच्चिकै सेमेस्टार घाँडो भएकै छ । त्रि. वि. ले न भने बमोजिम विद्यार्थी भर्ना गर्न सकेको छ । न त परीक्षामा भने बमोजिम औषतमा विद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।

यो दोष कसको ? यसका दोषीे हुन्, त्रि. वि. का कुलपति, उपकुलपति, प्रोफेसर डाक्टर, राजनीतिक दल र तिनका भातृ संगठन । कुनैपनि कार्ययोजना बनाउनु पूर्व आज गरेको कार्य वा निर्णयले भोलि कस्तो परिणाम आउने हो । त्यो कुराको अड्कल नगरेर हचुवाको भरमा सेमेस्टार लागु गर्नुले आज यो परिणाम भोग्न त्रि. वि. बाध्य भएको छ ।

यो त रह्यो त्रि. वि. को समस्या । यता विद्यार्थीहरुको भने छुट्टै समस्या छ । सेमेस्टार लागु भएदेखि पाठ्यक्रम बाहेक पाठ्यपुस्तक कस्ता हुन्छन् देखेकै छैनन् । पढ्ने त झन् कहिले हो कहिले ? पाठ्यपुस्तकमा भएको पाठ्यक्रम बाहेक अरु देखेकै छैनन् । उफ ! कस्तो बिडम्बना हो । उच्च शिक्षा हासिल गर्ने उद्देश्य बोकेर ७ वटै प्रदेशका विभिन्न ठाउँबाट त्रि. वि. पुगेका विद्यार्थीहरुको शैक्षिक हविगत देख्नु भयो भने कतिसम्म कहाली लाग्दो छ ? त्यसका प्रत्यक्ष भुक्तभोगी त्रि. वि. का विद्यार्थी हुन् ।

स्नातकोत्तर पढ्ने विद्यार्थीले आफै शैक्षिक सामाग्री खोज, अनुसन्धान गरेर पढ्नुपर्छ, यो सोभाविक कुरा हो । तर विद्यार्थी नजाने ज्ञानको बाटो खोज्दैनन् जाने ज्ञानको बाटोको खोजीमा हुन्छन् । त्यही बाटो पहिल्याउन शिक्षक, प्रोफेसर, डाक्टर, पाठ्यक्रम र पाठ्यपुस्तकको आवश्यक पर्दछ । तर कुरा गर्यो कुरैको दुुःख । त्रि. वि. मा जुनसुकै शैक्षिक प्रणाली लागु गरिएता पनि कम्तिमा पाठ्यपुस्तक तयार हुनुपर्छ । जसअनुसार विद्यार्थीले सहज ढंगबाट अध्ययन गर्दछ । यथार्थमा त्यसो हुन सकेको छैन । त्रि. वि. मा पढाउँने प्राध्यापक एवं डाक्टरहरु स्वयं आफै अलमलमा छन् । किनकि पाठ्यक्रम बाहेक पाठ्यपुस्तक आजसम्म प्रकाशित भएका छैनन् । प्रकाशित हुँदै नभएका होइनन्, भएका छन् । ती कुनैकुनै विषयका पाठ्यपुस्तक मात्रै प्रकाशित छन् । अधिकांश पाठ्यपुस्तक प्रकाशित नभएपछि नाम चलेका दिग्गज एवं विद्यावारिधि गरेका प्राध्यापक डाक्टर लेरी पेजको गुगलको भरमा अध्यापन गराएर समयको गर्जो टार्छन् र आफ्नो लतब, भत्ता पकाउँछन् । सेमेस्टार लागु भएको ६ वर्ष बितिसक्दा प्रोफेसर डाक्टरहरु पनि गुगलमा राखिएका शैक्षिक सामाग्रीहरु हुबहुँ कपी, पेष्ट गरेर शिक्षण गर्नु त्रि. वि. का प्रध्यापक डाक्टरहरुको अल्प ज्ञानको कसौडी हो ।

कतिपय त्रि. वि. का प्रा. डा. पाठ्यपुस्तक लेख्न छोडेर पाठ्यपुस्तक भन्दा बाहिरका विभिन्न पुस्तकहरु लेख्ने र प्रकाशित गर्ने गरेको पाईन्छ । यसै सन्दर्भमा मैले त्रि. वि. शिक्षाशास्त्र विभागका प्रमुख दीपबहादुर भण्डारीलाई सोधेको थिए, त्रि. वि. का प्रोफेसर डाक्टरहरु आफूले अध्यापन गराउँने पाठ्यपुस्तक किन लेख्दैनन् ? लेखकीय क्षमता नभएको होकी ? यस प्रश्नमा भण्डारीले भने, ‘यहाँका प्रा. डा. हरुले पाठ्यपुस्तक लेख्न सक्छन् तर लेखेर प्रशस्त बजार पाउन गाह्रो छ । त्यसैले उनीहरु पाठ्पुस्तक लेख्न कञ्जुस्याँई गर्छन् ।’ यदि उनीहरुले पाठ्यपुस्तक लेख्न कञ्जुस्याँई गर्ने र बजारको खोजीमा हो भने प्राध्यापन पेशा छोडेर लेखक बने हुँदैन र ? आफ्ना विद्यार्थीप्रति उत्तरदायी हुनु पर्दैन ? लेखेर जिन्दगी चलाएका कयौ लेखक नेपालमा पनि छन् । किन गुगलको भरमा शिक्षण गर्न पर्यो ? यतिसम्मकी कोही प्रा. डा. त कक्षाकोठमा प्रवेश गरेपछि पाठ्यक्रममा भएको कुरा गुगलमा सर्च गरेर पढाउँछन् र भन्छन्, फलानो च्याप्टर गुगलमा सर्च गर्नु सबै पाईन्छ । मास्टर डिग्री पढ्ने व्यक्तिले कम्तिमा गुगल सर्च गर्न परेन ? उल्टै प्रश्न । कतिपय त्रि. वि. का विद्यार्थीलाई गुगल भनेको के हो ? गुगलको कार्य के हो र यसको आविष्कार कसले गरेका हुन् ? आदिबारे थाह नहुन पनि सक्छ । त्यसो भए त्रि. वि का विद्यार्थीलाई पाठ्यक्रम हातहातमा थमाईदिने अनि आ-आफ्नो घरमा पठाईदिए भयो नि ! किन नियमित कक्षामा हाजिर हुन पर्यो ? प्रत्येक महिनामा किन आन्तरिक परीक्षा एवं मुल्यांक गर्न पर्यो ? यस्तो झारो टार्ने शिक्षण विधिले त्रि. वि. का विद्यार्थीहरुको भविष्य के सुन्दर होला त ?

यसको मतलब सबै विद्यावारिधि गरेका प्रोफेसर डाक्टरहरुलाई यसो भन्न खोजिएको होइन । जस्तो राजनीतिशास्त्र विभाग त्रि. वि. कीर्तिपुर, काठमाण्डौंका प्रा. डा. भविन्द्रबहादुर खड्का, उनी पाठ्यक्रमकै आधारमा कक्षाकोठामा कुनैपनि पुस्तक नहेरी विद्यार्थीलाई पूर्ण ज्ञान प्रदान गर्ने अद्भुत क्षमता भएका प्रा. डा. हुन् । त्यस्तै प्राध्यापक ईन्दिरा रिजाल शिक्षण गर्दा बहुत मेहनत गर्छन् । उनीबाट विद्यार्थी स्वयं प्रभावित र प्रेरित छन् । त्यस्तै अर्का प्राध्यापक बाबुराम राई कक्षा कोठमा प्रवेश गर्नु पहिले आफू कन्फिडेन्ट नहुञ्जेल कुनैपनि पाठ्क्रम र पाठ्पुस्तक पल्टाउँदैनन् । त्रि. वि. का अन्य विभागका प्राध्यापक डाक्टरहरुसँग पनि यस्तो क्षमता नभएको भनिएको होइन, छ । तर कोही प्राध्यापक, डाक्टर यस्ता पनि छन्, उनीहरुको शिक्षण गर्ने तवर, तरिका, शैली कस्तो हुुनुपर्ने हो ? त्यो भनि साध्य छैन ।

यस्ता कमिकम्जोरी गर्ने प्राध्यापक, डाक्टर मात्रै होइनन् । विद्यार्थी पनि हुन् । समयमा कक्षामा हाजिर नहुने, नियमित पठनपाठनमा सरिक नहुने, व्यक्तिगत कार्य र विभिन्न राजनीतिक पार्टीसँग आवद्ध हुनुले पनि विद्यार्थी आफै समस्यामा बल्झिएका हुन् । तर यी र यस्ता कार्य सबै विद्यार्थीले गर्दैनन् । यी उल्लेखित समस्या सुल्झाउँन पहिले त त्रि. वि. नै अगाडि बढ्न आवश्यक छ । त्यपछि विद्यार्थी सक्षम हुन्छन् ।

                                                         -नरेश राना, राजनीति शास्त्र विभाग त्रि. वि. काठमाण्डौं ।