कम्युनिष्ट घोषणपत्रमा के छ ?


-युवा नेता रामदीप आचार्य

आज पनि संसारका धेरै पढिएका किताबहरुको सूचिमा सदावहार अग्रस्थानमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्धारा लिखित कम्युनिष्ट घोषणापत्र र माओद्वारा लेखिएका उद्धरणहरु (रेड बुकको नाममा परिचित ) नै रहेका छन् ।

घोषणापत्र मानव समाजको एक अति उत्कृष्ट रचना हो । संसारमा प्रकाशित पुस्तकहरुमध्ये अरबौं मान्छेहरुलाई यति धेरै प्रभावित पार्ने अर्काे कुनै रचना रहेको छैन । फरवरी १८४८ मा प्रकाशित उक्त रचना माक्र्स र एंगेल्सले लेखेका थिए जतिबेला माक्र्स ३० वर्ष र एंगेल्स २८ वर्षका मात्र थिए । घोषणापत्र प्रकाशनको चार वर्षअघिदेखि नै घनिष्ठ मित्र रहिसकेका उनिहरुको मित्रता जीवन पर्यत्न कायम रह्यो ।

एंगेल्स भन्छन् ‘हुन त कम्युनिष्ट घोषणापत्र हामी दुवैको संयुक्त कृति हो, तैपनि त्यसको आधारभूत र केन्द्रीय रचना माक्र्सले नै गरेका थिए भन्नु म आफ्नो कर्तव्य सम्झन्छु ।

इतिहासमा माक्र्स र एंगेल्सको जस्तो बेजोड मित्रता र सहयोगिताको दोश्रो उदाहरण पाइदैन र यी दुईजनाका गुणहरु एक अर्काका पूरक थिए । माक्र्सले आफ्नो कालजयी रचना पूँजीको भाग एक मात्र आफ्नो जीवनकालमा प्रकाशन गर्न भ्याएका थिए तर एंगेल्सले माक्र्सको मृत्युपछि भाग दुई र तीन प्रकाशन गरेका थिए । उनी आफै विख्यात विद्वान थिए तर, आफ्ना सबै काम थाँती राखेर माक्र्सका रचनाहरु प्रकाशन गर्नतिर लागे । उनमा लोभ र नाम कमाउने लालसा थिएन ।

एंगेल्स भन्छन् ‘हुन त कम्युनिष्ट घोषणापत्र हामी दुवैको संयुक्त कृति हो, तैपनि त्यसको आधारभूत र केन्द्रीय रचना माक्र्सले नै गरेका थिए भन्नु म आफ्नो कर्तव्य सम्झन्छु ।’ कम्युनिष्ट संघको लण्डनमा सन् १८४७ को नोभेम्बरमा सम्पन्न भएको महाधिवेशनले माक्र्स र एंगेल्सलाई पार्टीको विस्तृत सैद्धान्तिक र व्यवहारिक कार्यक्रम प्रकाशनार्थ तयार पार्ने अभिभारा सुम्पेको थियो । यो कार्य जनवरी १८४८मा पुरा भयो । एंगेल्सले प्रश्नोत्तर शैलीमा साम्यवादका सिद्धान्तहरु भनेर लेखेका थिए जो माक्र्सलाई सन्दर्भ सामाग्रीका रुपमा बुझाएका थिए ।

के छ कम्युनिष्ट घोषणापत्रमा ?

कम्युनिष्ट घोषणापत्र जम्मा चार भागमा विभाजन गरेर लेखिएको छ । पहिलो भागमा पूँजीपति र सर्वहारा, दोश्रोमा, सर्वहारा र कम्युनिष्ट, तेश्रोमा, समाजवादी र कम्युनिष्ट साहित्य र चौथोमा, विभिन्न विरोधी पार्टीहरुसित कम्युनिष्हरुको सम्बन्ध । ‘अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरुको इतिहास वर्ग संघर्षको इतिहास हो’ भनेर घोषणापत्रको लेखन शुरु गरिएको छ भने ‘संसारका मजदुर एक होऊ’ भन्ने आह्वान गर्दै समापन गरिएको छ । यही दुईवटा वाक्यहरु नै घोषणापत्रको सार हो । माक्र्सले राज्यको वर्गीय चरित्रलाई अत्यन्तै संक्षिप्त रुपमा संलेषित गरेका छन्, जो आज पनि उत्तिकै सत्य रहेको छ । ‘आधुनिक राज्यसत्ता भनेको तमाम पूँजीपति वर्गको सामान्य कार्यको प्रबन्ध गर्ने समिति मात्र हो ।’

पूँजीपति वर्गले यस्तो हतियारको मात्र निर्माण गरेको छैन जसले उसको अन्त्य गर्नेछ , उसले त यस्ता मानिसहरु पनि उत्पादन गरेको छ जसले उसको विरुद्ध यस हतियारको प्रयोग गर्नेछन् ।

पूँजीवाद अनादीकाल देखि अनन्तकालसम्म अस्तित्वमा रहिरहने छ भन्ने केही वुर्जुवा विचारकहरुको भनाइलाई खण्डन गर्दै यो निश्चिित समाज व्यवस्थाको उपज हो र नाशवान छ भन्ने तथ्य उजागर गरेका छन् । ‘जुन हतियारद्वारा पूँजीपति वर्गले सामन्तवादलाई ढालेको थियो त्यो नै अहिले स्वयं पूँजीपनि वर्गको विरुद्ध मोडिएको छ ।

पूँजीपति वर्गले यस्तो हतियारको मात्र निर्माण गरेको छैन जसले उसको अन्त्य गर्नेछ , उसले त यस्ता मानिसहरु पनि उत्पादन गरेको छ जसले उसको विरुद्ध यस हतियारको प्रयोग गर्नेछन् । ती हुन् आजका मजदुरहरु, सर्वहारा ।’

कम्युनिष्ट घोषणापत्रको लक्ष्य

यो एक अद्भूत कृति हो । मात्र यसकारणले होइन कि यसको भाषामा वजन छ र तागत छ, बरु यस निमित्त यसका थोरैपाना एवं शव्दहरु अनेकौं गुढ रहस्यहरु संक्षेपमा समाविष्ट छन् । यो इतिहासको दार्शनिक व्याख्या हो, समाजवादी सिद्धान्तको आलोचनात्मक प्रतिपादन हो र क्रान्तिमा उज्यालो प्रकाश छर्ने मार्गदर्शक विचार हो ।

यसका मुख्य दुईवटा लक्ष्यहरु थिए, पहिलो लक्ष्य मजदुर वर्गलाई उसको ऐतिहासिक दायित्व प्रति सजग गराउनु र यस दायित्वको छिटोभन्दा छिटो परिपूर्तितर्फ उसलाई अग्रसर गराउनु हो । दोश्रो लक्ष्य वुर्जुवा समाजको पर्दाफास गर्नु हो, जस अन्तर्गत पूँजीवादी सभ्यता आफ्नो वास्तविक रुप लुकाउँछ र मजदुरहरुलाई दासको स्तरमा पुर्याउँछ ।

अतः कम्युनिष्ट घोषणापत्र एक अद्भूत कृति हो यसका प्रत्येक शव्दहरु सरल र सिधा देखिन्छन् तथापी, यसको प्रत्येक शब्द पछाडि गहन बौद्धिकता लुकेको छ ।

यसलाई समाजवादी घोषणापत्र किन भनिएन ?

‘त्यतिबेला समाजवादी भन्नाले दुई अर्थ लाग्दथ्यो । एकातर्फ विभिन्न कल्पनावादी पद्धतिका अनुयायीहरु थिए, जस्तै बेलायतमा ओवेनवादीहरु र फ्रान्समा फुरिएवादीहरु । फेरि यी दुवै नै विशुद्ध सम्प्रदायमा बदलिइसकेका थिए जो विस्तार विस्तार मरणासन्न अवस्थामा पुगिरहेका थिए ।

अर्कोतर्फ ती नानाथरीका सामाजिक धामी झाँक्रीहरु थिए पूँजी र लाभांशमा कुनै धक्का नपर्ने गरी विभिन्न प्रकारका सरसहयोगद्वारा सबै सामाजिक आपतहरुलाई हटाउने कुरा गर्दथे । यी दुई थरिका मानिसहरु मजदुर आन्दोलन देखि धेरै टाढा थिए । यस प्रकार सन् १८४७ मा समाजवाद पूँजीवादी आन्दोलनको रुपमा थियो भने साम्यवाद मजदुर आन्दोलनको रुपमा ।’ (एंगेल्स) । त्यसैले यसको नाम साम्यवादी घोषणापत्र रहन गयो ।

घोषणापत्रको समिक्षा

‘समाजवादी साहित्यको आलोचना पनि आजको दृष्टिले अपर्याप्त छ, किनभने यसमा सन् १८४७ सम्मको मात्र कुरा छ । यही कुरा विभिन्न विरोधि पार्टीहरुसित कम्युनिष्टहरुको सम्बन्धको बारेमा पनि लागू हुन्छ । यद्यपी, त्यसमा भनिएका सबै कुराहरु सैद्धान्तिक रुपले अझै पनि सही छन्, तथापी व्यवहारमा पुरानो भइसकेका छन् ।’ एंगेल्स निःसन्देह वर्तमान समयमा घोषणापत्र सम्पूर्ण समाजवादी साहित्यको सबैभन्दा प्रचलित तथा सबैभन्दा अन्तर्राष्टिय रचना हो ।

सबैले कम्युष्टि घोषणापत्र पढौं

समाजवादी आन्दोलनको बारेमा चासो राख्ने, कम्युष्टि आन्दोलनमा सहभागी सबैले फेरि कम्युनिष्ट घोषणापत्रको अध्ययन जरुरी छ । यो वैचारिक जग हो । जग बलियो भएन भने घर बलियो बन्दैन । यसका सार्वभौम र विशिष्ट पक्षको अध्ययन आजको सन्दर्भसँग जोडेर पढौं ।

घोषणापत्रमा भनिए जस्तै यसका मूल सिद्धान्तहरुको व्यवहारिक कार्यन्वयन जहाँसुकै र जहिले पनि विद्यमान रहेका ऐतिहासिक परिस्थितिहरुमा निर्भर रहने छ ।