वीरगञ्ज । आगलागी घटनाका पीडितहरुलाई मधेश प्रदेश सरकारले आवास निर्माण संगै दश हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मधेश प्रदेश सरकारले विभिन्न जिल्लामा भएको आगलागी घटनामा परेर पीडित भएकाहरुकालागि सो निर्णय गरेको छ । गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा शुक्रबार भएको प्रदेश विपद् व्यवस्थापन समितिको बसेको बैठकले प्रति परिवार १० हजार वितरण गर्ने निर्णय गरेको छ । सो बैठकले सर्लाही, सप्तरी र महोत्तरी जिल्लामा भएको आगलागीका कारणले ठूलो मात्रामा धनमालको क्षति भएको छ ।
तीन जिल्लाका सयौ भन्दा बढी घर तथा घरमा भएको धनमाल जलेर नष्ट भएपछि आगलागीका पीडितहरुलाई निकै समस्याबाट गुज्रिनु परिरहेको छ । आगलागीमा परेर घरबार गुमाएकाहरूलाई दिर्घकालीन व्यवस्थापनका लागि प्रदेश सरकारले आवासको निर्माण गर्ने विषयमा पनि प्रदेश विपद् व्यवस्थापन समिति छलफल भएको जनाइएको छ ।
प्रदेश सरकारले घोषणा गरेको रकम गृह, सञ्चार तथा कानुन मन्त्रालयले नै वितरण गर्ने गृहमन्त्री लेखीले बताए । उनले आगलागीमा परेर पीडित भएकाहरूलाई कानुनी प्रक्रिया तथा कर्मचारी तन्त्रका कारणले राहत पाउनमा ढिलाइ भएकोमा दुःख व्यक्त गर्दै यथाशीघ्र प्रक्रियाद्वारा पीडितको आवास निर्माणसमेत गरिने बताए । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढ्न थालेको छ । पछिल्लो समय हरेक जिल्लामा आगलागीका घटना बढेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरीले सङ्कलन गरेको विवरणमा हरेक जिल्लामा आगलागीका घटना भएका छन् । मधेशको सिरहा जिल्लामा सबैभन्दा बढी आगलागीको घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । आगलागीका घटना कम भएको जिल्ला सर्लाही रहेको छ । सिरहामा २१६ वटा र सर्लाहीमा १०६ आगलागीका घटना भएको छ । यसैगरी सप्तरीमा १७२, धनुषामा १४५, महोत्तरीमा १३०, रौतहटमा १८३, बारामा १२१ र पर्सामा १२८ वटा आगलागीको घटना भएको प्रदेश प्रहरीको तथ्याङ्क छ ।
आगलागीका कारण प्रदेशमा १० महिनाभित्र करिब आधा अर्ब बराबरको धनमाल जलेर खरानी भएको तथ्याङ्क छ । ८ वटै जिल्लामा करिव ४६ अर्व भन्दा बढी रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ । प्रहरीका अनुसार सप्तरीमा ५ करोड ४१ लाख, सिरहामा ८ करोड २० लाख, धनुषामा ८ करोड ४९ लाख, महोत्तरीमा ४ करोड १४ लाख, सर्लाहीमा ४ करोड ४१ लाख रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । यसैगरी रौतहटमा ४ करोड ९८ लाख, बारामा ४ करोड १७ लाख र पर्सामा ५ करोड ७२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी विवरण छ । प्रदेशका अधिकांश जिल्लामा आगलागीको घटना भएको छ ।
दिनहुँजसो कहीँ न कहीँ आगलागीका घटना भइरहेका छन् । एक्कासी गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ । मुख्यतः २ कारणले आगलागीका घटना भइरहेका छन् । प्राविधिक गडबडी र मानवीय लापरबाहीका कारण आगलागीका घटना भइरहेको छ ।