नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोली टी–२० शृङ्खलाको अन्तिम खेलमा पहिले ब्याटिङ गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर वेस्ट इन्डिजले ब्याटिङ रोजेको हो। यो शृङ्खला भने वेस्ट इन्डिजले जितिसकेको छ।
पाँच खेलको शृङ्खलामा तीन खेल वेस्ट इन्डिजले र एक खेल नेपालले जितेको छ। आज अन्तिम खेलमा हो। आजको खेलका लागि नेपाली टोलीमा दुई जना मात्रै परिवर्तन भएका छन्। गुल्शन झा र ललित राजवंशीको स्थानमा सागर ढकाल र अनिल साह टोलीमा परेका छन्।
यो प्रतियोगिता सकिएसँगै नेपाली टोली टी–२० विश्वकप खेल्न जानेछ। विश्कपमा नेपाल पहिलो खेल जेठ २२ मा नेदरल्यान्डस्सँग खेल्नेछ। टी–२० विश्वकप आउँदो जेठ १९ गतेदेखि वेस्ट इन्डिज र अमेरिकामा हुँदै छ। नेपाल रहेको समूह ‘डी’मा बाङ्लादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्डस् छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। विश्वकप खेल्ने टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।