जनकपुरधाम, २२बैशाख– पर्सा, बारासहित मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म संकलन गरिएको तथ्यांक विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ। अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि आग्रह गरिएको छ।
प्रदेश प्रहरी कार्यालयलाई प्राप्त विवरणमा हालसम्म आगलागीबाट पर्सामा पाँच करोड ७२ लाख, बारामा चार करोड १७ लाख, रौतहटमा चार करोड ९८ लाख, धनुषामा आठ करोड ४९ लाख, महोत्तरीमा चार करोड १४ लाख, सर्लाहीमा चार करोड ४१ लाख, सप्तरीमा पाँच करोड ४१ लाख र सिरहामा आठ करोड ४९ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको बताइएको छ।
मधेस प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन्। यस अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा एक सय ६ आगलागीका घटना भएको विवरणमा जनाइएको छ।
यसैगरी पर्सामा एक सय २८, बारामा एक सय २१, रौतहटमा एक सय ८३, सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५ र महोत्तरीमा एक सय ३० आगलागीका घटना भएको विवरणमा उल्लेख गरिएको छ।
लामो समयदेखि आकाशे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीका कारण आगलागीका घटना अत्यधिक भएको प्रहरीको अनुमान रहेको छ। साथै मानवीय लापरबाही तथा प्राविधिक समस्याले पनि आगलागीका घटना तथा क्षति भएको प्रहरीले जनाएको छ ।