काठमाडौं– वैशाख कृष्ण पक्ष औँशी अर्थात आमाको मुख हेर्ने औँशीका दिन काठमाडौंको चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला मंगलवारदेखि प्रारम्भ भएको छ । यो वर्ष भोलि वैशाख २६ गते बुधवार मातातीर्थ औँशी मनाइँदै छ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासका अन्ुसार मातातीर्थ मेलाको सम्पूर्ण तयारी सोमवार नै पुरा भएर आजदेखि मेला प्रारम्भ भएको हो । उदासले मेलालाई सफलतापूर्वक सञ्चालन गर्नका लागि मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको बताए ।
मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने तथा बत्ती बालेको भोलिपल्ट औँशीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि उक्त क्षेत्रमा मेला लाग्ने गर्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा हरेक वर्ष श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीको भनाइ छ । अधिकारीका अनुसार उक्त कुण्डमा आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।
दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो । उनीहरुले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।
मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फनपार्क, पिकनिक स्पट तथा कुण्डभन्दा आठ मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको काम समितिले अगाडि बढाएको छ । समितिले स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्दैछ ।
मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि रिजर्भ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको छ ।