वीरगञ्ज । यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार बृजलाल पासवाने पाउने भएका छन् । नेपाल पत्रकार महासंघको सोमबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय सहारा दैनिकका सहसम्पादक बृजलाल पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासंघका अध्यक्ष अनुप तिवारीले जानकारी दिए । पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।
यात्रा डेलीसँगको टेलिफोन संवादका क्रममा अध्यक्ष तिवारीले भने, ‘हरेक वर्ष जस्तै यस वर्ष पनि महासंघले स्व। गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो । आज बसेको कार्य समिति बैठकले बृजलाल पासवान जी लाई यो पुरस्कार दिने निर्णय गरेको हो ।’
अध्यक्ष तिवारीकै अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बसेको बैठकमा उपाध्यक्ष युवराज खड्का, सुष्मा शर्मा, सचिव भुषण यादव, कोषाध्यक्ष सञ्जिव मिश्रा लगायत कार्य समिति सदस्यहरुको उपस्थिती रहेको थियो । यो पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच प्रदान गरिनेछ ।
गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिए । गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापीत पुरस्कारको राशी अहिले २५ हजार रुपैयाँ छ ।
यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केशरी र गया यादव पुरस्कृत भइसकेका छन् ।