सप्तरी । राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा शनिवारदेखि शुरु भएको छ । राजविराज २ स्थित प्रस्तावित बसपार्क प्राङ्गणमा रहेको मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई चार अंकको झिनो अन्तरले पराजित गरेको छ । मधेश प्रदेशले कोशी प्रदेशलाई ३६–३२ को अन्तर अंकले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
जिल्ला कबड्डी संघको आयोजना, अखिल नेपाल कबड्डी संघको समन्वय, राजविराज नगरपालिका तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सहयोगमा शुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत प्रवीणले उद्घाटन गरिन् । उनले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताइन् ।
उनले खेलकुदको विकासका लागि आफुले साधन श्रोतले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् । प्रतियोगिता जेठ १ गतेसम्म चल्ने छ । प्रतियोगितामा कर्णाली बाहेकका ६ प्रदेश तथा तीन वटा विभागीय (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी) गरी ९ वटा टिमको सहभागिता रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्द झाले दिए ।
कबड्डी खेललाई नेपालकै नम्बर १ खेल बनाउने, कबड्डी खेलमा महिला सहभागिता बढाउने र नयाँ नयाँ प्रतिभा खोज्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको महासचिव झाको भनाइ छ । प्रतियोगितामा विजेता र उपविजेताका साथै विभिन्न विद्यामा समेत उत्कृष्ट खेलाडीले नगद, ट्रफी, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने जिल्ला कबड्डी संघ सप्तरीका अध्यक्ष चन्द्रशेखर चौधरीले बताए ।
लिग कम नकआउट प्रणालीका आधारमा खेलाईने प्रतियोगिता अन्तगरत आइतवार चार वटा खेल हुनेछ । जस अनुसार पहिलो खेल नेपाली सेना र गण्डकी प्रदेश, दोश्रो खेल लुम्बीनी र सुदुरपश्चिम प्रदेश, तेश्रो खेल बागमति र मधेश प्रदेश तथा चौथो खेल नेपाल प्रहरी र सशस्त्र प्रहरी टिमबीच हुने आयोजक समितिले जनाएको छ ।