जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा पार्टीको क्रियाशिल सदस्य हेरेर अतृप्त आत्माहरु पार्टी छाडेर भागेको आरोप लगाएका छन् ।शनिबार जनकपुरधाममा मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो राष्ट्रिय अधिवेशन लाई सम्वोधन गर्दै अध्यक्ष यादवले पार्टी, संगठन बलियो बनाउन नसक्ने तर, बसी बसी सवै थोक खोज्नेहरु बाहिर गएपछि बास्तविक कार्यकर्तामा एउटा नयाँ जोस उमंग छाएको बताए । कुनै पार्टी फोडेर आएकाहरु यहाँबाट पनि गए त्यसकोलागि ठूलो टाउको दुखाइ गर्नुको कुनै तुक नरहेको उनले बताए । उनीहरु पार्टी छाडेको हो कि उनीहरु प्रलोभनमा परेर पार्टीबाट अलग भएको हो त्यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुलीमा दिएको अभिव्यक्तिवाट प्रष्ट भएको उनको भनाई थियो ।
कसैले पैसाको त कसैले मन्त्रीको लोभमा परेर पार्टीबाट अलग भएको अध्यक्ष यादवको भनाई थियो । उनले भने–‘घरमा कोही नभएको बेला ताल्चा फुटाएर समान लग्ने चोरनै कहलाउँछ ।’ पार्टी भित्रको विवाद पार्टीको बैठकमा राखेर समाधान गर्न सकिन्थ्यो तर, मधेश प्रदेशमा एक लाख भन्दा बढी क्रियाशिल सदस्य हेरेर उनीहरु आफ्नो स्थान जोगाउन मात्र पार्टी विभाजनको नाटक गरेको उनको भनाइ थियो ।पार्टी राष्ट्रिय महाधिवेशन निर्धारित समय र स्थानमा हुने बताउँदै उनले केही दिनकालागि हाम्रो संख्या घटेको हो तर, केही दिनमै त्यो भन्दा बढी संख्या हुने उनले दावी गरे ।उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका जनता समाजवादी पार्टी ९जसपा०नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर युद्ध जितेको सोच्नु दिवास्वप्न रहेको बताएका छन् ।
अध्यक्ष यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवास्वप्न रहेको बताए । ‘केही स्वार्थीहरुलाई प्रलोभनमा पारेर अलग गरिएको छ ’उनले भने, जसपा नेपालमा त्यसले कुनै असर पर्ने छैन् ।’ मधेशी स्वास्थ्यकर्मी फोरमको चौँथो राष्ट्रिय महाधिवेशनको शनिवार उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए । तर पार्टी कसले फुटाए भने उनले प्रष्ट रुपमा भन्न चाहेनन् ।
जसपा नेपालमाथि गरिएको प्रहार मधेशमाथि प्रहार रहेको भन्दै अध्यक्ष यादवले पार्टीबाट केही लोभीहरु अलग्गिदैमा जसपा नेपाल कमजोर नभएको दाबी गरे । उनले पार्टीमा केही सांसदको संख्या केही दिनकालागि कम भएको बताए । अध्यक्ष यादवले भने ‘यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थपूर्ति हुन्छ उतै लाग्छन् होला ? ’ अगाडि थप्दै भने ‘जसरी शरीर स्वस्थ्य रहनका लागि बिकार निकाल्नु पर्छ राम्रै भयो, बिकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडि बढ्ने छ ।’ मधेशको मुद्दा र संघीयता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने उनले बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशनसमेत दिए ।
जेठ २८, २९ र ३० गते एकताको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुरधाममा गर्ने जसपा नेपालले निर्णय गरिसकेको छ । त्यस अघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै जसपा नेपालका अध्यक्ष यादवले भने, ‘कुकुरले टोक्यो भने हामीले कुकुरलाई टोक्न जाने होइन ।’ स्वास्थ्यकर्मी फोरमका कार्यवाहक अध्यक्ष सच्चिदानन्द जयसवालको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय राज्यमन्त्री दीपककुमार कार्की , अर्थमन्त्री संजयकुमार यादव, जसपा नेपालका राजनीतिक समिति सदस्य हरिनारायण यादव, डा। सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव लगायतकाले महाधिवेशनको शुभकामना दिएका थिए ।
यता मधेसी स्वास्थ्यकर्मी फोरमको चौँथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रपछि आइतबार बन्दसत्र चल्ने छ भने सो बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने जनाइएको छ । सो बन्दसत्रमा प्रतिनिधि र पर्यवेक्षक गरी ४ सय ८० जना सहभागी रहेका छन् ।