काठमाडौँ — नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । नेपाली खेलकुदको लामो इतिहास बोकेको ब्याडमिन्टनले पहिलोपल्ट ओलम्पिक खेल्ने लागेको हो । जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो स्थान पुगेर इतिहास रचिसकेका प्रिन्सले फेरि अर्को इतिहास बनाएका छन् ।
ब्याडमिन्टन संघ २००८ सालमा स्थापना भएपछि नेपालमा संस्थागत रूपमा ब्याडमिन्टन खेलिन थालेको हो । तर, त्यो भन्दा धेरै अगाडिदेखि नेपालमा ब्याडमिन्टन खेलिने गरेको इतिहास भेटिन्छ ।
लामो इतिहासको सेरोफेरोमा पहिलो पटक यस खेलले ओलम्पिक खेल्ने सफलता पाउनु नेपालका लागि ठूलो उपलब्धि भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताउछन् ।उनले भने, ‘लामो इतिहास बोकेको ब्याडमिन्टनले पहिलो पटक ओलम्पिक खेल्न पाउनु हाम्रा लागि ठूलो र ऐतिहासिक उपलब्धि हो । यसले समग्र ब्याडमिन्टनलाई उत्साह दिएको छ । यो सफलताको हकदार प्रिन्स (दाहाल) बनेका छन् । उसले ओलम्पिकमा पनि राम्रो गर्दै नेपाली ब्याडमिन्टनको उचाइ बढाउने विश्वास छ ।’
फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिकका लागि ब्याडमिन्टनमा विश्वका १ सय ७२ खेलाडी छानिएका छन् । त्यसमा ४९ देशका खेलाडी परेका छन् । त्यसैमध्ये एकमा परेका हुन् प्रिन्स । पेरिस ओलम्पिकमा उनले मेन्स सिंगलमा प्रतिस्पर्धा गर्नेछन् ।
उमेरले प्रिन्स २० वर्षमा दौड्दै छन् । उनले आफ्नो सानैदेखिको ओलम्पिक खेल्ने सपना साकार हुन लागेको बताए । प्रिन्सले खुसी साटे, ‘यो खबर सुनेदेखि एकदमै उत्साह र खुसी लागिरहेछ । सानैदेखि ओलम्पिक खेल्ने सपना थियो । त्यो पूरा पेरिसमा पूरा हुँदै छ ।’
उनले नेपाली ब्याडमिन्टनको उचाइ बढाउन पाएकोमा आफूलाई गौरव महसुस भएको सुनाए । त्यसका लागि आफूले धेरै मिहिनेत र परिश्रम गरेको उनको भनाइ थियो ।
दार्चुलामा जन्मिएका प्रिन्सले ६–७ वर्षको उमेरदेखि नै ¥याकेट समाएका थिए । किरोशावस्थामा पुग्दा नपुग्दै उनले घरेलु प्रतियोगिताहरूमा सफलता हात पार्न थाले । १५ वर्षको उमेरमा त उनले अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता दुबई इन्टरनेसनल सिरिजमा स्वर्ण पदक नै जिते । त्यो सन् २०१९ को सेप्टेम्बरमा थियो । त्यहाकक उनले भारतका वरुण कपुरलाई हराएपछि विश्व वरीयतामा ठूलो फड्को मारेका थिए । त्यसपछि उनले वरीयताका समावेश प्रतियोगिताहरूमा सफलता पाउककदै जुनियर वरीयताको शीर्षस्थान ओगेटका थिए ।
घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा डबल्सतर्फ दुई कांस्य जितेका प्रिन्सले गत वर्ष चीनमा भएको हाङचाउ एसियाड पनि खेलेका थिए । एसियाडमा उनी राउन्ड अफ ३२ मा पराजित भएका थिए ।
पेरिस ओलम्पिक सहभागितालाई थप ऐतिहासिक बनाउने लक्ष्यमा छन् प्रिन्स । भन्छन्, ‘ओलम्पिक सहभागितालाई स्मरणयोग्य बनाउन सक्दो प्रयास गर्नेछु । थप मिहिनेत गर्नेछु ।’
त्यसका लागि उनी छिटै श्रीलंकामा प्रशिक्षणका लागि जाँदै छन् । यसअघि पनि उनले श्रीलंकामै इन्डोनेसियाका प्रशिक्षकबाट प्रशिक्षण लिइरहेका थिए । उनी ओलम्पिक छात्रवृत्तिप्राप्त खेलाडी हुन् । त्यसका लागि ओलम्पिकबाट उनलाई मासिक ७ सय ५० डलर प्राप्त हुन्छ ।
ओलम्पिक यात्रासम्म पुग्दै गर्दा प्रिन्सले आफ्नो परिवार, विशेषत मामा, ब्याडमिन्टन संघ, ओलम्पिक कमिटी र सबै गुरुहरूको योगदान उल्लेखनीय रहेको सुनाए । सबैलाई धन्यवाद भन्दै उनले भने, ‘उहाँहरूको साथ र सहयोगमा म यो स्थानसम्म आइपुगेको छु । मप्रतिको उहाककहरूको अपेक्षालाई थप सफलतामा परिणत गर्नेछु ।’
ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले सन् २०२३ को मे १ देखि २०२४ को अप्रिल २८ सम्म विभिन्न प्रतियोगितालाई ‘रोड टु पेरिस’ चक्रको रूपमा छनोट प्रतियोगिताको मान्यता दिएको थियो । ओलम्पिकमा पाँचै महादेशका खेलाडीको प्रतिनिधित्व रहोस् भनेर कोटा निर्धारण गर्दछ ।
महिला र पुरुष दुवैतर्फ गरी १ सय ७२ खेलाडीलाई पेरिस ओलम्पिकमा स्थान थियो । त्यसमध्ये महिला–पुरुष ८३–८३ गरी १६६ खेलाडी प्रतियोगितामार्फत सिधैं छानिन्थ्यो भने युनिभर्सालिटी (सार्वभौमिकता) कोटा चार र आयोजक राष्ट्रको कोटा दुई थियो ।
नेपालका प्रिन्स विश्व वरीयताको १७९ औं स्थानमा छन् । उनी युनिभर्सालिटी कोटामै परेका हुन् । त्यसका लागि त्रिपक्षीय आयोग (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, वर्ल्ड ब्याडमिन्टन फेडेरेसन र आयोजक नेसनल ओलम्पिक कमिटी प्रतिनिधि सम्मिलित) ले युनिभर्सालिटी कोटामा पर्ने खेलाडी छान्दछ । त्यो कोटामा पर्न आईओसी छात्रवृत्तिप्राप्त हुनुपर्ने, ¥याकिङ प्रतियोगिताहरूमा गरेको प्रदर्शन र देशको उच्च वरीयताको खेलाडी हुनुपर्ने मापदण्ड छ ।
नेपाल ओलम्पिक कमिटी, नेपाल ब्याडमिन्टन संघको धैरै प्रयासपछि प्रिन्सको ओलम्पिक यात्रा तय भएको संघका अध्यक्ष श्रेष्ठ बताउछन् । उनले भने, ‘हाम्रो प्रयास र उनको मिहिनेतले यति ठूलो उपलब्धि हासिल गरेका हौं । विगतमा पनि हामीले प्रयास नगरेका होइननौं । तर, ती सबै पूरा गर्न सकेका थिएनौं ।’
प्रिन्सले अघिल्लो महिनामात्र चीनमा भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा दुई खेल जितेका थिए । उनले बहराइनका एडनान इब्राहिमलाई २–१ र बंगलादेशका खानदोकार अब्दुसलाई २–० को सेटमा पराजित गरेका थिए । जुन प्रदर्शनले उनको ओलम्पिकको ढोका खोल्नमा ठूलो मद्दत ग¥यो ।