३१ वैशाख,विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्ता सरकार विस्तार गरिने बताएका छन् । सोमबार कोसी प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
सरकार विस्तारबारे केही सैद्धान्तिक कुरा भइसकेको उनले उल्लेख गरे । त्यसकै आधारमा यही हप्ता सरकार विस्तार गरिने उनले बताए । ‘केही “सैद्धान्तिक कुराहरू हामीले गरेका छौँ । यसको आधारमा अब हामी एकदुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार विस्तार गरिसक्छौँ,” उनले भने ।
कार्कीले ५७ मत प्राप्त गरे । प्रदेशसभा बैठकमा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनलाई समर्थन गरेका हुन् । नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का तीन र जसपाका एक सांसदले उनलाई समर्थन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसद तटस्थ रहे ।
बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने कि राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने विषयमा आफूहरू स्पष्ट रहेको उनले बताए ।
“जसपाले पक्षमा रहेर र नेकपा (एस)ले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ । जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ । नेकपा (एकीकृत समाजवादी)को भने विपक्षमा समर्थन छ । त्यहीअनुसार अघि बढ्नेछौँ,” उनले भने, “समयक्रममा सबैको सरकार बन्न पनि सक्छ । बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ कि राजीनामा दिनुपर्छ । कि अर्को सरकार बनेपछि स्वीकार्नुपर्छ । यसमा हामी स्पष्ट छौँ ।”
सर्वोच्च अदालतले भविष्यमा गर्ने कुनै पनि फैसला आफूहरूले मान्ने उनले बताए ।