जनता समाजवादी पार्टी बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।
जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट एक जना मन्त्री पहिले नै सरकारमै छन् ।यता शपथ लिए लगतै नवनियुक्त स्वास्थ्य मन्त्री यादवले सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् ।
सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् ।
स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्ने निर्णय भएको हो ।