१ जेठ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा नेकपा एमाले हाबी भएको देखिएको छ । वर्तमान सत्तारुढ गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् ।
सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेकपा एमाले भए पनि सरकारको नेतृत्व भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । तर, सरकारको नीति तथा कार्यक्रममा भने नेकपा एमाले हाबी देखिएको छ ।
“समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणलाई, राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्न प्रतिबद्ध छ,” सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने ।
सरकारको नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय आकांक्षाको रूपमा प्रस्तुत गरिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेकपा एमालेका अवधारणा हो । आफ्नो अवधारणालाई नीति तथा कार्यक्रममा समेट्न एमाले सफल भएको छ । अघिल्लो वर्ष प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधरणालाई समेटिएको थिएन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आएको नीति तथा कार्यक्रममा भने ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई उच्च प्राथमिकता दिइएको थियो ।
नेकपा एमालेको नवौं महाधिवेसन २०७१ सालमा सम्पन्न भएको थियो । सोही महाधिवेशनमा ‘नेकपा एमालेको परिकल्पनाः सुखी नेपाली, समृद्ध नेपालको स्थापना’ भन्ने नारा पारित गरेको थियो । त्यसपछि २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि २०७४ सालमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट नै एमालेले आफ्नो चुनावी घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई प्राथमिकता दिँदै आएको छ ।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण हुँदा पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणलाई उच्च प्राथमिकतामा राखिएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको २५ वर्षमा नेपाललाई समृद्ध बनाउने अवधारणा हो । केही वर्ष नसुनिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणालाई सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।