वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा क्याम्पसका संस्थापक एंव दाताहरुको शालीक निर्माण गरी बिहीबार अनावरणपनि गरिएको छ ।
क्याम्पसको मूल भवन परिसरमा निर्माण गरिएको संस्थापक एंव दाताद्वय स्वर्गीय महावीर प्रसाद र स्व। रघुवीर रामको अर्ध कदको शालीक बिहीबार अनावरण गरिएको हो । त्रिभुवन विश्वविद्यालयकम उपकूलपति प्राध्यापक डाक्टर केशरजंग बरालले दुवै शालीकको अनावरण गरेका हुन् । त्यसअवसरमा दाता परिवारका सदस्यहरुकोपनि विशेष उपस्थिती रहेको थियो ।
काठमाडौं उपत्यकापछिको सबै भन्दा पूरानो र त्रिभुवन विश्वविद्यालय भन्दापनि जेठो ठाकुरराम बहुमुखी क्याम्पस विक्रम संवत २००९ सालमा स्थापना भएको थियो । वीरगन्जका समाजसेवी एंव शिक्षाप्रेमीद्वय स्व।महावीर प्रसाद र स्व। रघुवीर रामले आफना स्वर्गीय बुबा स्व। ठाकुर रामको स्मृतिमा १७ बिघा जग्गामा भवन निर्माण गरि ठाकुरराम क्याम्पसको स्थापना गरेका थिए । स्थापनाका बखत भारत बिहारको पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि सञ्चालनमा आएको ठाकुरराम बहुमुखी क्याम्पस विक्रम संवत २०१६ सालदेखि भने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै सञ्चालनमा रहेको छ ।
ठाकुरराम क्याम्पसका संस्थापक एंव दाताद्वय स्व। महावीर प्रसाद र स्व। रघुवीर रामले आफना पिता स्व। ठाकुर रामकै स्मृतिमा विक्रम संवत २००१ सालमा बाराको अमलेखगन्ज ठाकुरराम प्राथमिक विद्यालय , विक्रम संवत २००७ सालमा वीरगन्जको श्रीपुरमा नेपाल राष्ट्रिय विद्यापिठ विद्यालय र वीरगन्जमै त्रिजुद्ध मावि स्थापनामापनि जग्गादानका साथै आर्थिक सहयोग गरेका थिए ।
क्याम्पस प्रमुख रणजीत यादवको अध्यक्षतामा बिहीबार भएको शालीक अनावरण कार्यक्रममै क्याम्पसका पूर्व क्याम्पस प्रमुख केदार साह, ललन द्धिवेदी, प्रमोद कुशवाहा लगायतलाई दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इसम्तयाज आलम, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य डाक्टर सुबोध गुता लगायतकोपनि उपस्थिती थियो ।