४ जेठ,धनुषा । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतिपूर्ण बनेको छ ।
जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका लागि विभिन्न दलसँग संवाद गरिरहेको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन जसपाले अन्य दलसँग संवाद तीब्र बनाएको छ । एमाले र माओवादी पनि आआफ्नो नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँग साथ र समर्थन मागिरहेका छन् ।
विगतदेखि नै सङ्घीय सरकारभन्दा मधेश प्रदेश सरकारलाई प्राथमिकतामा राख्ने गरेको जसपाले सङ्घीय सरकारबाट बाहिरिएलगत्तै अन्य दलसँग संवाद सुरू गरिसकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता दीपक कार्कीले राज्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेशमा सरकार जोगाउन जोड गरिरहेका छन् । अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवासमा पुगेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् भने अन्य दलसँग पनि संवादका लागि पहल गरिरहेका छन् ।
सरकारलाई समर्थन गरिरहेको नेकपा (एकीकृत समाजवादी) लाई साथमै राख्ने र सरकारबाहिर रहेका नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीलगायतलाई सरकारमा ल्याउन जसपाले पहल गरिरहेको सो पार्टीका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए । “हामी सरकारको निरन्तरताका लागि सबै दलसँग संवाद र सहकार्य गर्न तयार छौँ । सबैसँग छलफल भइरहेकाले यही सरकारले निरन्तरता पाउँछ भन्नेमा हामी आशावादी पनि छौँ र यसका लागि संसदीय दलले संवाद बढाउने निर्णय गरिसकेको छ”, उनले भने ।
एकीकृत समाजवादी मधेश प्रदेश संसदीय दलका नेता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले आफूसहितको सरकार जोगाउन पार्टीले पहल गर्ने बताए । उनले भने, “हामीले जसपा नेपाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थियौँ, अहिले पनि यही सरकारमा छौँ । यो सरकारलाई निरन्तरताका लागि पहल गर्नु हाम्रो पनि दायित्व हो त्यो पूरा गर्छौ ।”
अहिले पुर्नगठन गरिएको सरकारमा मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक जना राज्यमन्त्री छन् । त्यसमा नेकपा एकीकृत समाजवादीका दुई मन्त्री रहेका छन् । मधेस प्रदेशसभामा जसपाका १९ र नेकपा एकीकृत समाजवादीको सात सांसद छन् । जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ । जसपाले २२ मत रहेको नेपाली कांग्रेसको साथ खोजिरहेको छ तर कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । कांग्रेस मधेस प्रदेशसभाका संसदीय दलका उपनेता विरेन्द्रकुमार सिंहले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन छलफल भइरहेको बताए । त्यसका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बाहेक सबै दलसँग छलफल भइरहेको उनको भनाइ छ ।
यसअघि गत मङ्गलबार कांग्रेस मधेस प्रदेशका सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर मधेस प्रदेशमा सरकार बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
लोसपाका उपाध्यक्ष एवम् मधेस प्रदेशसभा सदस्य जितेन्द्र सोनलले जसपा नेपाललाई सहयोग गर्ने अवस्था नरहेको बताए । आफ्नो पार्टीले विपक्षमा रहेका कांग्रेसलगायत दलसँग संवाद गरिरहेकाले सोही सहमतिअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।
मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको नौ÷नौ, नेकपा एकीकृत समाजवादीको सात र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् ।
माओवादी केन्द्र र एमालेले पनि सरकार बनाउन पहल सुरु गरेका छन् । यी दुई दलले पनि जसपा नेपालबाहेक अन्य सबै दलसँग कुराकानी गरिरहेका छन् । एमाले र माओवादीसँग जम्मा ३२ सिट छ । सरकार बनाउन यो पक्षलाई थप २२ सिटको आवश्यकता छ । एमालेसहितको पक्षले जनमत पार्टीले जसपा नेपाल इतर सरकार गठनका लागि सहयोग गर्ने अपेक्षा गरिरहेको छ । जनमत पनि सरकार गठनका लागि उपयुक्त अवसरको पर्खाइमा छ । सो पार्टी मधेश प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादवले सरकार गठनका लागि सबै पार्टीसँग संवाद जारिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताए ।