रुपन्देही । राष्ट्रिय सभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट २ सीटका लागि ६ जना उम्मेदवारहरू मत माग्दै जिल्ला दौडाहामा लागेका छन् ।
गठबन्धनको तुलनामा कमजोर मतभार रहेको एमालेले सत्तारुढ दलबाटै मत तानेर जित्ने रणनीतिमा लागेको छ भने सत्तारुढ दलबाट टिकट पाएका कांग्रेस र माओवादी आफ्नो मत सुरक्षित बनाउने गरी लागेका छन् ।
गठबन्धन दलमै रहेको जनमत र सरकार बाहिर रहेको राप्रपाका एक एक उम्मेदवार आफ्नो मत सुरक्षित बनाउने गरी लागेका छन् ।
सत्तारुढ दल एकै टोली बनाएर जिल्ला दौडाहामा छन् भने एमाले र अन्य दलका उम्मेदवार एक्ला एक्लै मत माग्न हिँडिरहेका छन् ।
माघ ११ गते हुने निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कांग्रेसका विष्णु सापकोटा संयुक्त रूपमा सबै जिल्लामा पुग्ने गरी जिल्ला दौडाहामा छन् ।
त्यस्तै एमालेका झपेन्द्रबहादुर जिसी र तुलसाकुमारी केसी भने छुट्टाछुट्टै मत माग्दै हिँडेका छन् । लुम्बिनीमा सत्तारुढ दलमै रहेको जनमत पार्टीबाट बालगोविन्द चौधरी र राप्रपाबाट विजयलक्ष्मी सिंह र उम्मेदवार छन् ।
२ सीटका लागि ७ जनाको उम्मेदवारी परेपनि राप्रपाका निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएपछि ६ जना मात्रै मैदानमा रहेका छन् ।
सत्ता गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनाव प्रचारप्रसारमा लागेको छ ।गठबन्धनले संयुक्त बैठक राखेर समयतालिकासहितको चुनावी योजना बनाएर प्रचारप्रसारमा लाग्ने निर्णय गरेको थियो ।
त्यही परिचालन कमिटीको योजना अनुसार सत्ता गठबन्धनका उम्मेदवारले पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका पहाडी जिल्लामा भेला गरेर प्रचारप्रसारको काम सम्पन्न गरेको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए ।
त्यस्तै तराईका जिल्लामा पनि उम्मेदवारको टोली पुग्ने, भेला गर्ने, आफ्ना योजनाहरु सुनाउने गरी योजना बनाइएको उनले बताए ।
गठबन्धनको मतभार बलियो रहेको र कुनैपनि मत दायाँबायाँ नहुने गरी सबै पार्टीहरु परिचालन भएको माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बराल बताउँछन् ।
एमालेले पार्टीको सिंगो प्रदेश कमिटीलाई नै परिचालन गरेर रणनीतिक रूपमा मत मागिरहेको छ । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेल दुवै उम्मेदवारहरुले आफ्नो तरिकाले जिल्ला–जिल्लामा परिचालन भएको र त्यहीअनुसार मत मागरिहेको र पार्टीले पनि सोही अनुसार सबै जिल्लामा संयन्त्र अनुसार काम भएको बताउँछन् ।
‘गठबन्धनमा असन्तुष्ट भएका दलहरुसँग मत माग्ने र सहकार्य गरेर जाने सम्भावना पनि रहेको उनले बताए । लुम्बिनीमा राप्रपा, जनमत र स्वतन्त्रहरुको मत तान्ने प्रयासमा एमाले छ ।
उनले एमालेको मतभार कम रहेपनि दुवै उम्मेवारले जित्ने रणनीतिका साथ प्रचारप्रसारको काम गरिरहेको बताए ।