८ जेठ,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गरेका हुन् ।
गत आइतबार गृहमन्त्री लामिछानेले काँग्रेस सभापति देउवाले आफूलाई डेढ वर्ष प्रधानमन्त्री अफर गरेको र आफूले अस्वीकार गरेपछि संसदमा अवरोध गरेको आरोप लगाएका थिए । काँग्रेसका महामन्त्री गगन थापालाई कृषि अनुदान दुरुपयोग गरेको, विदेशीलाई सूचना बेचेको आदि आरोप लगाएका थिए ।
मंगलबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेसँग समय लिएर काँग्रेस सांसद पाण्डेले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा बरबराएको टिप्पणी गरेका छन् ।
‘उहाँ बोल्न उभिनुभएन रोष्ट्रममा, लामो समय बरबराउनुभयो । बरबराउनुमात्रै भएन लाखौँ करोडौँ मानिसलाई उहाँले बराल्ने काम पनि गर्नुभयो । थुप्रै त्यस्ता विषयहरूको जवाफ हामी आगामी दिनमा दिँदै जानेछौँ’, पाण्डेले भनेका छन् ।
पाण्डेले आफ्ना सभापति र महामन्त्रीमाथि लगाएको आरोपको छानबिन गर्न पनि गृहमन्त्रीलाई चुनौती दिए । ‘हाम्रो पार्टीका सभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ । म चुनौती दिन चाहन्छु–के कस्तो खालको टिओर बनाउनुपर्ने हो बनाउनुहोस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओरमा लेख्नुपर्ने हो कि, व्यक्तिको लेख्नुपर्ने हो कि, नेपाली काँग्रेस पार्टीको लेख्नुपर्ने हो लेख्नुस् । छानबिनको समय पनि तोक्नुहोस्’, उनले भनेका छन् ।