तनहुँ, ९ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो ।
यहाँ आज आयोजित कार्यक्रममा गुरुङ लामा बौद्ध एसोसिएसनका सदस्य खेन रिन्पोचे शिर लामाले उक्त मूर्तिको शिलान्यास गरे । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित २९ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारप्रसार हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने छ ।
एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ‘डिपिआर’ तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको संरक्षणका साथै थप प्रवर्द्धन हुने उल्लेख गरे ।
प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनमा दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतीक गौतम बुद्धको मूर्ति निर्माण गर्न लागेका छन् ।
पृथ्वीराजमार्गको लेखनाथ तथा म्याग्देबाट देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्ति निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजना समेत समेटिएको छ । बुद्ध जयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज अन्य समयमा पनि आन्तरिक पर्यटकले भरिन थालिसकेको छ । सधैँ दुलेगौँडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा यहाँका स्थानीय साँझ बिहान टहलिन तथा पैदल यात्रामा पुग्ने गरेका छन् ।
केही वर्ष पहिला यस ठाउँमा घाँसदाउरा गर्न बाहेक स्थानीय नजानेमा पछिल्लो समय शनिबार र चाडपर्वमा दैनिक दुई÷तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लने गरेका स्थानीय बताउँछन् । पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धूपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापताका टाँसिएको छ ।
पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले दश लाखको बजेटमा दुई सय मिटर रेलिङसहितको पदमार्ग निर्माण गरेको थियो । साथै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाखको लागतमा ढुङ्गाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको छ ।