धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थपेको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो । तर इजलासले ३ दिन मात्र म्याद थपेको हो ।
नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको थियो । बुधबार अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिइएको थियो ।
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा हतियारसहित आएको प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै पक्राउ गरी राति धनुषा ल्याएको थियो । त्यसपछि बुधबार जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसमक्ष अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको थियो । पहिलो पटक दिइएको समय बिहीबार नै सकिएपछि शुक्रबार पुनः ५ दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको हो ।
सिरोहियाका तर्फबाट कानुन व्यवसायीहरुले उनलाई गैरकानुनी रुपमा धरपकड गराएको र नागरिकता विवादको विषय थुनामा राख्न नपर्ने खालको भन्दै रिहा गर्न माग गरेका थिए । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्तहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए ।
मुद्दाको पक्ष र विपक्षीको बहस सुने पनि न्यायाधीश ज्ञवालीको इजलासले थप हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।