भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुईवटा विद्यालय भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको १।७६ करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयको भवनको आज उद्घाटन गरिएको हो ।
यस्तै, भारतकै २।८७ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङकै घोराही उप–महानगरपालिकास्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको भवनको पनि उद्घाटन गरिएको छ । दुवै भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।
पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । ४९० वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । यीमध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् जसमा ६ वटा परियोजना दाङमा छन् ।