सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्व गण हेडक्वाटर पिलुवा बाराले विविध कार्यक्रम गरी २३ औँ स्थापना दिवस मनाएको छ । गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दैसशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनी पती सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिपेन्द्र साहले मधेश प्रदेशमा सुरक्षा चुनौतीपूर्ण भएपनि सशस्त्र प्रहरीले प्रभावकारी काम गरीरहेको दाबी गरे ।
विपद् व्यवस्थापनदेखि सामाजिक क्षेत्र र राजस्व चुहावटका क्षेत्रमा सशस्त्र प्रहरीले गरीरहेको कामको डिआईजी साहले सह्राना गरे । रिजर्व गणलाई अझै प्रभावकारी रुपमा परिचालित भएर काम गर्न पनि साहले निर्देशन दिएका छन् । सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका युनिटले सतर्क र सजग भएर काम गर्नुपर्ने उनको सुझाव छ । साथै गणको सही नेतृत्व र सबै कर्मचारीको अथक प्रयासकै कारण उत्कृष्ट कार्य गरेकोमा साहले बधाई समेत दिएका छन् ।
गणमै रहेको शहिद स्मृती बाटिकामा पुष्पगुच्छा अर्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । बिरगती प्राप्त सशस्त्र प्रहरीलाई स्मरण गर्दै शहिद परिवारका दुई जनालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । साथै वार्षिकोत्सवका अवसरमा गणमै भएका आन्तरिक खेलकुद तथा सांस्कृतिक कार्यक्रमका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । गणमै कार्यरत सिपाहीदेखि सशस्त्र प्रहरी निरीक्षकसम्मका ८ जनालाई प्रमाण पत्र मार्फत पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट काम गरेबापत उनीहरुलाई प्रोत्साहन गरिएको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताए । यस्तै स्थापना दिवसकै अवसरमा आयोजित ‘लागुऔषध दुव्र्यसनी’ विषयक चित्रकला प्रतियोगीताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४, १५, १६ का दस वटा विद्यालयका २० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा नेपाली सेनाको सिआईजे डब्लु शिक्षालयका समादेशक महासेनानी डा. बिजित राज रेग्मि, सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालय पथलैया बाराका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रमोद साह, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, जिल्लाका सुरक्षा प्रमुख, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक बिशेश्वर कुमार यादव, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, जितपुर सिमराका उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको समापन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्व गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले जनताको सेवा र सुरक्षाको क्षेत्रमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले निरन्तर शान्ति सुरक्षामा खटिनुका साथै सीमा क्षेत्रमा कडाई गरेर राजस्व चुहावटलाई न्यूनिकरण गर्ने बताए । औद्योगिक सुरक्षा र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा आवश्यक स्रोत साधन र तालिमको तयारीका साथ गण बसेको पनि उनको भनाई छ ।