बेल्जियम– नेपाली खानालाई युरोपमा चिनाउने उद्देश्यले नेपाली ‘फुड फेस्टिबल’ अर्थात खाना महोत्सव सम्पन्न भएको छ । साथै महोत्सवले नेपालमा पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने आयोजकको अपेक्षा राखेको छ ।
महोत्सवमा नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकार १४ वटा खानाका स्टलहरू राखिएको थियो । त्यस्तै, नेपाली हस्तकलाका सामग्रीका दुई वटा स्टलहरू थिए । बेल्जियम व्यवसायी संघका महासचिव जगदिश सापकोटाका अनुसार फेस्टिबलमा विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा र मसलाबारे जानकारी दिइएको बताए ।
उनले लुभेनमा १७० भन्दा बढी देशका मानिसहर बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए । उनले भने, ‘नेपाल र नेपालीसँगको सम्बन्ध भविष्यमा अझ बलियो हुनेछ ।’ बेल्जियम र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृतिको पहिचान र नेपाली आत्मीयता बेल्जियमबासिले सधैँ सम्झने गरेको बताए ।
राजदूत भण्डारीले भने, ‘फेस्टिबलमा खानाको अलावा नेपाली विभिन्न उत्पादनहरूको पनि प्रदर्शन गरिएको छ । यी कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छ ।’
युरोपियन युनियनका उपनिर्देशक पाउला पाम्पालोनी, बेल्जियम सांसद एवं परराष्ट्र सम्बन्ध समितिका सभापति एल्स भान होस लगायत १५ भन्दा बढी देशका राजदूत, बेल्जियम सरकार र युरोपियन युनियनका अधिकारीहरूको सहभागिता थियो ।
एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले फेस्टिबलले नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्नमा टेवा पुर्याउने बताइन् । त्यस्तै, नेपाली व्यवसायी संघ बेल्जियम तथा नेपाली फुड फेस्टिबलका अध्यक्ष चिरनकुमार खवासले यस्ता महोत्सवले दुई देशबीचको कूटनीतिक तथा सामाजिक सम्बन्ध बलियो बनाउने बताए ।
आयोजकको तर्फबाट फेस्टिबल संयोजक एवं उपाध्यक्ष कासी दनै, अध्यक्ष चिरनकुमार खवास र राजदूत राजभन्डारीले मायाको चिनो प्रदान गरेका थिए । नेपाली व्यवसायी संघ बेल्जियम, नेपाली राजदुताबास र अन्य संघसंस्थाहरुको संयोजनमा फेस्टिबल भएको हो । फेस्टिबल समारोहको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।
महोत्सवमा नेपाली कला संस्कृति झल्कने नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । साथै, स्टल राखेकाहरुलाई सम्मान गरिएको थियो । महोत्सवमा २२ हजार बढीको सहभागिता रहेको आयोजकको दाबी छ ।