१७ जेठ,काठमाडौं । सरकारले आजदेखि ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । कोशी प्रदेशबाट सुरु हुने मेला सातवटै प्रदेशमा आयोजना गरिनेछ ।
मेलाको सुरुवात कोशी प्रदेशबाट हुँदैछ । कोशी प्रदेशको विराटनगरस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज सुरु हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ ।
कोशी प्रदेशबाट सुरु हुने मेला जेठ ३० गते बागमती प्रदेशमा पुगेर समापन हुनेछ । हरेक प्रदेशमा दुई–दुई दिन मेला सञ्चालन हुनेछ ।
कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ ।
मेलाबारे श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रूपमा रहेका छन् ।