काठमाडौं । वडा अध्यक्षको फेसबुक अकाउन्ट ह्याक गरी ठगी कार्यमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका–१ घर भएका २६ वर्षीय सुमन बुढाथोकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले सर्लाही प्रहरीसँगको समन्वयमा बुढाथोकीलाई बुधबार सर्लाहीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईँका अनुसार कार्यालयमा यस विषयमा उजुरी परेको थियो । “म्याग्दे गाउँपालिका–४ तनहुँका वडा अध्यक्ष दिपक कुमार श्रेष्ठको अकाउन्ट ह्याक भई रकम मागिएको भनेर उजुरी परेको थियो,” टेकपानासँग कुरा गर्दै प्रहरी निरीक्षक हुमागाईंले भने, “हामीले अनुसन्धान गरेर आरोपी बुढाथोकीलाई पक्राउ गरेर ल्याएका छौं ।”
म्याग्दे गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष श्रेष्ठका अनुसार उनको अकाउन्ट १९ वैशाखमा ह्याक भएको थियो । “गाउँपालिकाकै एक कर्मचारी र म एकदमै नजिकका साथी हौं, उहाँको फेसबुक अकाउन्ट ह्याक भएको रहेछ,” वडा अध्यक्ष श्रेष्ठले भने, “१९ वैशाखमा उताबाट मलाई फेसबुकमा मेसेज पठाएर ह्वाट्सएपमा कोड आएको छ पठाइदिनु न भनेर मेसेज आयो ।”
कोड आएको छ भनेर चिनेकै व्यक्तिले भनेपछि वडा अध्यक्ष श्रेष्ठले ह्वाट्सएप खोले र बाँकी अरू मेसेज पढ्दै नपढी कोड मेसेन्जरमा पठाइदिए ।
त्यसपछि उनी अरू काममै व्यस्त भए । त्यसको एक घण्टापछि उनलाई मेसेज आउन थाल्यो । उनले अगाडि भने, “मलाई केही साथीहरूले तपाईंलाई कुन अकाउन्टमा पैसा पठाइदिने हो भनेर सोध्नुभयो, केहीले तपाईंलाई किन पैसा चाहिएको भनेर सोध्नुभयो ।”
यसरी प्रश्नहरू आउन थालेपछि उनले फेसबुक लगइन गर्न खोजे, तर पासवर्ड मिलेन । त्यसपछि पासवर्ड फर्गेट गरे, अनि नयाँ पासवर्ड राखेर लगइन गरे । त्यसपछि मेसेज हेर्दा दुई जनाबाट एक लाख पाँच हजार रुपैयाँ मागेको देखियो ।
“रकम मागेको पाएपछि कुरा गरेको सबै प्रमाण लिएर म जिल्ला प्रशासन कार्यालय गएँ,” उनले भने, “त्यसपछि जिप्रका तनहुँ गएँ । उजुरी दिएपछि वालेट कम्पनीलाई फोन गरेर पैसा होल्ड गर्न लगाएँ ।”
त्यसपछि वालेट कम्पनीले ठगी गर्ने व्यक्तिको अकाउन्टमा गएको रकम फिर्ता गरिदिए । र, यता अकाउन्ट ह्याक गरेर ठगी गर्ने व्यक्ति पनि पक्राउ परे ।
आरोपी सुमन बुढाथोकीले अरू ठगेका छन् वा छैनन् भन्ने विषयमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।