मधेस प्रदेशका पर्सा, बारासहित चार वटा जिल्लाका ४ सय ७२ वटा सहकारी संस्थाहरु सम्पर्कविहीन भएका छन् ।पर्सा,बारा,, रौतहट र सर्लाही गरी ४ जिल्लाका ४ सय ७२ सहकारी सम्पर्कविहीन भएका हुन् ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार यी चार जिल्लमा मात्रै उक्त संख्या बराबरको सहकारी संस्थाहरु हालसम्म सम्पर्कविहीन भएका छन् । जसमा सबैभन्दा बढी सर्लाहीको जिल्लाको एक सय ९२ वटा सहकारीहरु सम्पर्कविहीन रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, बाराका एक सय १२ वटा , पर्साका ८५ वटा र रौतहटका ८३ वटा सहकारीहरु सम्पर्कविहीन रहेका छन् । मन्त्रालयका सहकारी विभागका अधिकृत सुनिल थापाका अनुसार यी सहकारीहरु नियमित रुपमा ताकेता गर्दापनि मन्त्रालयमा सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आबद्ध नभएका र केही सहकारी संस्थाहरुसँग सम्पर्कसमेत स्थापित गर्न नसकिएको बताएका छन् ।
मन्त्रालयले पहिलो पटक ०८० साल चैत १८ गते नै ३५ दिने सूचना जारी गरी प्रदेशमा रहेका सहकारी संस्थाहरुलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको थियो । अहिले बिहीबार फेरि अर्को सूचना जारी गरी बारा, पर्सा, रौतहट र सर्लाही गरी ४ जिल्लाका सहकारीहरुलाई सम्पर्कमा आउन ३५ दिने सूचनामार्फत् आग्रह गरेको छ ।
सूचनामार्फत् यस अवधिमा सम्पर्कमा नआउने सहकारी संघ संस्थाहरुलाई मधेस प्रदेश सहकारी ऐन,२०७९ तथा नियमावली २०८० बमोजिम कारवाही प्रक्रियाअघि बढाउने ब्योवहोरासमेत अघि बढाउने चेतावनी दिइएको छ ।
यसअघि मन्त्रालयले मधेसका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा र सप्तरीका गरी ३१० सहकारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो । तर,तीमध्ये ६० वटा मात्रै सहकारी आवश्यक कागजातसहित सम्पर्कमा आएका थिए ।
मन्त्रालयले ती सहकारीलाई पुनः १५ दिनको समय दिएर सम्पर्कमा आउन भनेको छ, साथै सम्पर्कमा नआएमा आवश्यक कारबाही गरिने समेत चेतावनी दिएको छ । मधेस प्रदेशमा रहेका आठ वटा जिल्लाहरुमा पछिल्लो समय सहकारी संस्थाहरुले बचतकार्ताको रकम लिएर फरार हुने, बचतकर्ताको बचत फिर्ता नगर्ने, सहकारीको रकम हिनामिना गर्ने लगायतका समस्याहरु बढदै गएको छ । जसका कारण यहाँ सर्बसाधारणहरु जिल्ला प्रशासन, जिल्ला प्रहरीमा आफ्नो रकम फिर्ताको लागि उजुरी लिएर पुग्ने गरेका छन ।