नेपालगञ्ज– जेठ १८ गते नेपालगञ्ज उपमहानगरपालिका– २०, राँझाचोकमा एक महिला बेहोस् भइन्। उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भयो। पछि सोधीखोजी गर्दा राँझा नै बस्ने ३७ वर्षीया गंगा विक भएको पुष्टि भयो।
सडकमै बसिरहने विकले मादक पदार्थ सेवन गर्ने गरेको सधैं त्यहाँ देखिरहनेहरूको भनाई थियो। चर्को गर्मी सडकको बास अनि मादक पदार्थ सेवनले गर्दा विकको मृत्यु भएको आममानिसको बुझाई रह्यो।
जेठ १५ गते दिउँसो एक बजे नेपालगञ्ज उपमहानगरपालिका– १८, कारकादोस्थित सुर्खेतरोडमा एक महिला बेहोस् अवस्थामा फेला परिन्। अन्दाजी ३५–४० वर्षकी महिलालाई बेहोस् अवस्थामै भेरी अस्पताल, नेपालगञ्जमा लगियो। उपचारको क्रममा महिलाको मृत्यु भयो। सडकमा मागेर हिँड्ने ती महिलाको सनाखत हुन सकेको छैन।
जेठ ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा बस्ने एक महिला बेहोस् भइन्। उपचारका लागि भेरी अस्पतालमा लगियो, त्यही उनको मृत्यु भयो। महिलाको पछि सनाखत भयो । नेपालगञ्ज उपमहानगरपालिका– १० की ५२ वर्षीया भीमाकुमारी पाण्डे रहेछिन्। मन्दिर परिसरमा मागेर बस्ने उनले पनि अत्याधिक मदिरा सेवन गर्ने गरेको चिनेजानेकाहरूले बताए।
जेठ ४ गते बिहान ११ बजे खजुरारोडमा एक पुरुषको शव फेला पर्यो। अन्दाजी ४०–४२ वर्षीय पुरुषको सनाखत हुन सकेन। वैशाखको ९ गते खजुरारोडमा पुरुषको शेव फेला पर्यो। रक्ताम्य अवस्थामा रहेका पुरुषको सनाखत हुन सकेन। वैशाख ७ गते महेन्द्र बहुमुखी क्याम्पस नजिक बेहोस् अवस्थामा भेटिएकी २९ वर्षीया गीता परियारको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भयो। वैशाख ४ गते नेपालगञ्जको कारकादोमा बर्दियाका टेकबहादुर चौधरी बेहोस् भए। उपचारको लागि भेरी अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भयो।
नेपालगञ्जमा पछिल्लो दिनमा ४४.२ डिग्रीसम्म तापक्रम पुगेको छ। वैशाखदेखि नै यहाँको तापक्रम ४० डिग्री आसपासमा रहेको छ। अत्याधिक गर्मीले गर्दा घरभित्रै नै बस्न नसक्ने अवस्थामा सडकमा बस्ने मानिसलाई त्यसले प्रत्यक्ष असर पुर्याएको छ। त्यसमा बेवारिसे अवस्थामा सडकमा माग्दै हिँड्नेहरू अलिकति पैसा जम्मा हुने वित्तिकै मदिरा सेवन गरेको पाइन्छ। बाहिरी तापक्रमको गर्मी र मदिरा सेवनले गर्दा उनीहरूको मृत्यु भएको जानकारहरू बताउँछन्।
भेरी अस्पतालमा भने गर्मीकै कारण मृत्यु भएको तथ्यांक छैन। प्रहरीले सडकमा बेहोस् भएर ढलेकालाई उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको बताएको छ। सात जनामा घटनास्थलमै मृत्यु भएको, मृत्यु भएपछि खबर गरिएको र केहीलाई बेहोस् अवस्थामा अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरीको अभिलेख रहेको छ।
यसरी मृत्यु भएका र सनाखत हुन नसकेको हकमा केही दिन सोधीखोजी गर्ने र कोही सम्पर्कमा नआएमा प्रहरी र नगरपालिकाले शव व्यवस्थापन गरिदिने गरेका छन्। भेरी अस्पतालमा यस्तो बेवारिसे शव अहिले पनि एउटा रहेको छ।