स्याङ्जा, जेठ २० गते । पुतलीबजार नगरपालिका १ स्याङ्जामा अग्रज कलाकार एवम् स्रष्टालाई सम्मान गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघ स्याङ्जाले आठौं वार्षिक साधारणसभा एवम् चौथो अधिवेशनका अवसरमा जिल्ला अग्रज कलाकार एवम् स्रष्टालाई सम्मान गरेको हो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका संस्थापक अध्यक्ष एवम् पत्रकार गोपाल जिटी, प्रतिष्ठानका पूर्व अध्यक्ष अर्जुन गैह्रै र लोक दोहोरी गायिका मिना अधिकारी सम्मान पत्रद्वारा सम्मानित हुनुभएको हो । २०४९ देखि २०५३ सालसम्म रेडियो नेपालका गायक एवम् पत्रकार जिटीका वालिङ बजार, सम्झना मनभरी, डाली बसी, सलल यो आँधीखोला, डोरी छिन्छकि, रुपकि रानीलगायत चर्चित गीत रहेका छन् भने जिटी प्रतिष्ठान स्याङ्जाको संस्थापक समेत रहनुभएको छ ।
पेशाले शिक्षक गैह्रै स्याङ्जाली नानी, जिउँदै मरियो, भैंसी पालेरलगायतका चर्चित गीतका गायक तथा प्रतिष्ठानका पूर्व अध्यक्ष रहनुभएको छ । यस्तै गोलभेडाको चटनी, माइतीको आँगन लगायत दर्जनौ चर्चित गीतमा आवाज दिनु भएकी अधिकारी लाइभ दोहोरीमा व्यस्त रहनुभएको छ ।
यस्तै, संघको चौथो अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि बुद्धिबहादुर परियारको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा दुतप्रसाद नेपाली, सचिव राधिका दोरङ्गा, सहसचिव सीता भूजेल र कोषाध्यक्ष सुमित्रा दोरङ्ग रहनुभएको छ ।