हालैका दिनमा आइफोन प्रयोगकर्ताहरुको फोटो ग्यालरीमा त्यस्ता तस्वीरहरू पनि देखिन थाले । जसलाई उनीहरुले १० वर्षअघि नै डिलिट गरिदिएका थिए ।
डिलिट गरेका त्यस्ता पूराना तस्वीर आइफोनमा पुनः देखा पर्दा आइफोन प्रयोगकर्ताहरु हैरान भए । करिब एक हप्तासम्म आइफोनमा यस्तो समस्या देखियो । आखिर किन यस्तो भयो ? आइफोन निर्माता एप्पलले यसबारेमा प्रष्टीकरण दिएको छ ।
एप्पलका अनुसार एउटा बगका कारण यस्तो भएको हो । उक्त बग एप्पलको अपरेटिङ सिस्टम आईओएस १५.५.१ म देखिएको थियो । एप्पलले सो बगलाई समाधान गर्नका लागि अपडेट जारी गरेको छ ।
सो बगका बारेमा विस्तृतमा जानकारी दिंदै एप्पलले करप्ट डेटाबेसका कारण त्यस्तो भएको जिकिर गरेको छ । तथापि उक्त बगका कारण आइक्लाउडका तस्वीरहरू भने प्रभावित नभएको एप्पलको भनाइ छ ।
कतिपय प्रयोगकर्ताहरुले आफूले पुरानो आइफोनबाट २०१० मै डिलिट गरेका तस्वीहरू आफ्नो नयाँ आइफोनमा देखिएको जनाएका छन् ।
एप्पलले भने प्रयोगकर्ताहरुले नयाँ फोन प्रयोग गर्ने बेलामा पुरानो फोनका डेटाहरुको ब्याकअप लिने भएकाले यस्तो भएको बताएको छ ।
तर, आफ्नो पुरानो फोनलाई फ्याक्ट्री रिसेट गरेर बेचिसकेका प्रयोगकर्ताहरु भने यो बगबाट प्रभावित नभएको एप्पलको भनाइ छ ।त्यसैले त्यस्ता प्रयोगकर्ताहरुले आफ्ना तस्वीरहरू अरु कसैको हातमा परे कि ? भन्ने चिन्ता गर्नु नपर्ने एप्पलले जनाएको छ ।
साथै यो बगबाट निकै कममात्रै प्रयोगकर्ताहरु प्रभावित भएको पनि एप्पलको दाबी छ ।