चितवन : चितवनमा शुक्रबार र शनिबार साँझपख आएको हावाहुरीले केरा खेतीमा ठूलो नोक्सान गरेको छ । चितवनको पूर्वी भागमा पर्ने रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रका ठूल्ठूला केरा बगानका लगभग सबै केराका बोट ढलेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा खासै नोक्सान नगरको चितवन केरा उत्पादक संघले जनाएको छ ।
आउँदो हप्ता १५ दिनपछि बजार लैजान मिल्ने अवस्थामा रहेका केराहरू ढलेर नोक्सान हुँदा आर्थिक क्षति पुगेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए ।
क्षतिको विवरण संकलन भइरहेको र करिब दुई हजारदेखि २५ सय बिघामा लगाएको केरा खेती हावाहुरीले नोक्सान गरेको देखिने उनले बताए । उनकाअनुसार करिब १२ करोड रूपैयाँ बराबरको केरा खेती ढलेर नोक्सान भएको छ ।
’चितवनमा ३५ सय बिघामा केरा खेती छ । सबैभन्दा धेरै चितवनको पूर्वी भेगमा नै छ । पश्चिम भेगमा हावाहुरी खासै ठूलो नआएकाले त्यस्तो नोक्सान छैन । पूर्वी क्षेत्रमा नोक्सान नभएको केरा बगान नै छैन’ चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले भने ।
चितवन खैरहनी –६ तुलसीपुरमा लगभग ११ बिघा जमिन भाडामा लिएर केरा खेती गरेकी आसिका मल्लको बगानका सबै केरा ढलेका छन् । उनको बगानको केरा हप्ता दिनपछि बिक्री हुने अवस्थामा थिए । ’अब ढलेपछि अलि कलिलै रहेका यी केरा कसैले किन्दैन । ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब आठ १० लाख रूपैयाँ खर्च आउन सक्छ । ठूलो नोक्सानी भयो । केरा ढलेको बारी हेर्दा रिंगटा चल्छ र आफैं ढलौंला झैं हुन्छ’ मल्ले भनिन् ।
चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले हावाहुरीले चितवनको केरा खेतीमा गरेको यो नोक्सानी अहिलेसम्म कै ठूलो भएको दाबी गरे । केरा खेतीको बिमा हुने गरेको छ । तर गत वर्ष भएको क्षतिको बिमा भुक्तान अझै बाँकी रहेकाले अहिले हुने नोक्सानीको भुक्तान कहिले होला भन्न नसकेको उनले बताए । ’किसानहरू यो पटक ठूलो मारमा परेका छन् । अरू नभएपनि बिमा रकम छिटो भुक्तानी गरे थोरै भए पनि हामीलाई राहत त मिल्ने थियो’ पन्तले भने ।