काठमाडौँ । नेकपा एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदका उम्मेदवार पोखरेलले कुल खसेको ७६५ मत मध्ये ३१३ मतका साथ जित निकालेका हुन् ।
एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाको मतगणनामा पोखरेलले अध्यक्ष पदका अर्का प्रत्याशी इन्द्रमान स्याङ्तानलाई पराजित गरेका हुन् ।
हेटौँडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिरको सभाहलमा भइरहेको मतगणनामा पोखरेलका निकटतम प्रतिद्वन्द्वी स्याङ्तानले २६५ मत प्राप्त गरे । अध्यक्ष पदका प्रत्याशी लालबहादुर थापा र देवराज रिमालले क्रमशः १६३ र ११ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा हिदम लामा ४७६ मतसहित जित निकालेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुनिल मोक्तानलाई पराजित गरेका हुन् । मोक्तानले १९७ मत प्राप्त गरे । उपाध्यक्षका अर्का आकाङ्क्षी भरत दुलालले ३८ मत पाएका छन् भने ध्रुव चौंलागाईले २६ मत प्राप्त गरे ।
सचिवमा सीता विष्टले निर्वाचित भएकी छिन् । विष्टले २९७ मत सहित मदन दाहाललाई पराजित गरेका थिए । दाहालले २५५ मत प्राप्त गरेका थिए भने सचिव पदका अर्का आकाङ्क्षी राजन थापाले १७१ मत पाए ।
उपसचिव खुलातर्फ फुर्वा दोर्जे लामाले २४१ मतसहित जित निकालेका छन् । उपसचिव पदका अर्का आकाङ्क्षी दीपक खड्काले १६७ मत सहित पराजित भए भने इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाईंले र खेम जर्गामगरले क्रमशः १२९, ८६ र १०० मत पाए ।
उपसचिव महिलातर्फ आरती पाठक २४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी कल्पना बलामीले १५६ मत पाइन् । उपसचिव महिला तर्फकी अर्का आकाङ्क्षी जुना दाहालले १५२ मत र पार्वती राना १७२ मत पाइन् ।
५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि आइतबार मतदान भएको थियो । निर्वाचन समितिका अनुसार मतगणनाको अन्तिम नतिजा सोमबार नै सार्वजनिक गर्ने तयारी गरेको छ ।