पर्साको ठोरी नाकामा छोटी भन्सार कार्यालय पुनःसञ्चालनमा आएको महिना दिनभित्र एक लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । नेपाल आउन चाहने भारतीय नम्बर प्लेटका साना–ठूला गाडीलाई अस्थायी अनुमतिपत्र दिने सेवासहित ठोरीको छोटी भन्सार कार्यालय गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको थियो ।
वैशाखमा ४० हजार दुई सय रुपैयाँ राजश्व संकलन भएको थियो । ‘जेठ २० गतेसम्म एक लाख ३५ हजार रुपैयाँ राजश्व उठेको छ,’ ठोरी छोटी भन्सार कार्यालयका नायब सुब्बा शशी विश्वकर्माले भने ।
छोटी भन्सार कार्यालयबाट १० हजार रुपैयाँ मूल्य बराबरका सामग्री मात्रै भन्सार राजश्व तिरर नेपाल ल्याउन पाइन्छ ।छोटी भन्सार कार्यालयले उठाएको राजश्वमा नेपाल घुम्न अस्थायी अनुमतिपत्र लिएका भारतीय नम्बर प्लेटका गाडीहरूले बुझाएको रकम रहेको छ । कार्यालय सञ्चालनमा आएको महिना दिनमा भारतीय नम्बर प्लेटका १७८ वटा मोटरसाइकल, जिप, कारले अस्थायी अनुमतिपत्र लिएको विश्वकर्माले बताए । यसरी अनुमति लिनेमा भारतीय नम्बर प्लेट भएका तीनवटा ट्याक्टर पनि छन् । जुन बिहेमा जन्ती लिएर आएका थिए । भारतीय नम्बर प्लेटका गाडी नेपाल आउन चाहे वर्ष दिनमा बढीमा ३० दिन बस्न पाउने गरेर अस्थायी अनुमति दिने नियम छ ।
नेपालका जुनसुकै भन्सार कार्यालयबाट अस्थायी अनुमतिपत्र लिए पनि त्यस्ता गाडी नेपालभर नै गुड्न पाउँछन् । गाडीको क्षमता र दिन अनुसार राजश्व बुझाउनु पर्छ । ठोरी भन्सारबाट एकदेखि तीन दिनसम्मको अनुमति काट्ने धेरै रहेको विश्वकर्माले बताए ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार ठोरीमा विस २०२५ मै भन्सार स्थापना भएको थियो । पछिल्लो समय नयाँ कार्यालय भवन बने पनि सेवा बन्द थियो ।
ठोरीका पर्यटन व्यवसायी सुदीप थापाले अस्थायी अनुमतिपत्र लिएकाहरू भरतपुरसम्म जाने गरेको बताउँछन् । ठोरीमा अस्थायी अनुमति पत्र लिने सुविधा नहुँदा वीरगञ्ज भन्सार कार्यालयबाट पत्र काट्नु पर्थ्यो । ‘भारतको बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण, बेतिया र पटना आसपासका बासिन्दालाई ठोरी नाका हुँदै नेपाल घुम्न छिट्टो हुन्छ ।
अस्थायी अनुमति पत्र यहीबाट दिएका कारण ठोरीलगायत चितवनको माडी र भरतपुर तथा सौराहा गैंडाकोटसम्मको पर्यटन विकासमा ठुलो टेवा पुग्ने छ,’ पर्यटन व्यवसायी थापाले भने । ठोरीबाट चितवन सदरमुकाम भरतपुर ७५ किलोमिटर उत्तरमा छ । तर बाटो सवै ठाउँ सजिलो छैन ।
ठोरीबाट चितवन छिरे लगत्तै आउने चितवन निकुञ्जको अमुवा पोष्टदेखि माडी बगइसम्मको १८ किलोमिटर जंगलको बाटो कच्ची र साह्रै अफ्ठ्यारो छ । माडी छिरेपछि केही बाटो सजिलो छ । तर माडीबाट उत्तर लागेपछि बनकट्टादेखि कसरासम्म चितवन निकुञ्जकै १० किलोमिटर जंगलको बाटो फेरि कच्ची छ । त्यसैले जंगलको बाटो सुधार गर्न पनि पहल गरे घुम्न आउनेहरूलाई निकै सहज हुने पर्यटन व्यवसायी थापा बताउँछन् ।साभार ः ईकान्तिपुर