वीरगञ्ज : नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज क्षेत्रमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको छ। यस क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको प्राधिकरणले जानाएको छ।
वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई विद्युत् आपूर्ति दिन चालू रहेका प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको छ। साथै, उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित रहेको जनाइएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रूपमा बनाउन लागेको हो।
प्राधिकरणले वीरगञ्ज औद्योगिक करिडोरको समस्या समाधान गर्न बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राखिरहेको छ। डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो कन्डक्टर निकाली उच्च क्षमता (एचटीएलएस)को राख्ने काम भइरहेको छ।
एउटा सर्किटको काम सकिएपछि त्यसलाई सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु हुनेछ। प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो साताभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ। पथलैया– परवानीपुर प्रसारण लाइनबाट करिब दुई सय मेगावाट प्रवाह गर्न सकिनेमा कन्डक्टर बदलेपछि क्षमता बढेर झन्डै दोब्बर हुनेछ। हेटौंडा–पथलैया १३२ केभी प्रसारण लाइनको पनि कन्डक्टर बदलेर क्षमता दोब्बर बनाइसकिएको छ। यसले गर्दा परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी कन्डक्टर बदल्ने कार्य जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरेका छन्। घिसिङले अब पथलैया–परवानीपुर प्रसारण लाइनको क्षमता हालको भन्दा दोब्बर हुने हुँदा त्यस क्षेत्रमा खपत गरी बढी भएको वर्षायामको विद्युत् रक्सौलतर्फ निर्यात गर्न सकिने पनि बताए।
वीरगञ्ज क्षेत्रका उद्योगलाई लक्षित गरी बाराको प्रसौनी र वीरगञ्जमा गरी १३२ केभीका दुई सबस्टेसन निर्माणाधीन छन्। प्रसौनी सबस्टेसन र वीरगन्ज सबस्टेसन जोडी विद्युत् आपूर्ति गर्न १३२ प्रसारण लाइन निर्माणाधीन छ।
यसैगरी, वीरगञ्ज क्षेत्रको विद्युत्को बढ्दो औद्योगिक मागपूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ। पोखरियामा सबस्टेसन निर्माणाधीन छ। परवानीपुर–पोखरिया करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको छ।