रामपुर (पाल्पा),। जिल्लाको रामपुर नगरपालिकाले महिलालाई मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका सामग्री उत्पादन गर्ने सिप प्रदान गरेको छ ।
गाईभैंसीलाई खुवाउन प्रयोग हुँदै आएको मकैको खोस्टा र वनमा पाइने थाकलको पातबाट हस्तकलाका सामग्री बनाउन सिकाइएको हो ।
नगरपालिकाले ओम राजश्री मल्टी एग्रो प्रालि. काठमाडौंको प्राविधिक सहयोगमा वडा ५ र ६ मा एक महिने तालिम सञ्चालन गरेको थियो । नगर भित्रका ४० जना महिलालाई स्थानीय स्तरमा पाइने प्राकृतिक रेशाजन्य वनस्पतीमार्फत हाते झोला, टोपी, फूलदानी, टोकरी लगायतका विभिन्न सामग्री बनाउने सिप सिकाएको हो ।
तालिममा सहभागी महिलालाई प्रमाणपत्र प्रदान गर्दै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले स्थानीय स्रोत र साधनको सदुपयोग गरी महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । सिकेका सिपको माध्यमबाट हस्तकलाका सामग्री उत्पादन गर्न आग्रह गर्दै उहाँले उत्पादित सामग्री नगरपालिकाले खरिद गरिदिने तथा उत्पादनको आधारमा अनुदान समेत दिने प्रतिवद्धता जनाउनुभयो । ‘सिकेको सिपको सदुपयोग गरेर उत्पादन गर्नुस् त्यसको बजारीकरण नगरपालिकाले गर्छ’ उहाँले भन्नुभयो ।
उपप्रमुख बालकुमारी थापाले महिलालाई स्वाबलम्बी र उद्यमी बनाउन नगरपालिकाले तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । नगरपालिकाले प्रदान गरेको सिपको माध्यमबाट उत्पादित वस्तु विक्रीका लागि कोसेली घरमार्फत बिक्रीको व्यवस्था गरिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले हस्तकलाका सामग्री सजावटका लागि प्रयोग हुने भन्दै खाली समयको सदुपयोग गरेर भए पनि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
सहभागी महिलालाई ओम राजश्री मल्टी एग्रो प्रालि. काठमाडौका डिला सिंजाली, माया राना, तारा थारु र सरस्वती चौधरीले तालिम दिनुभएको थियो । महिलालाई आत्मनिर्भर बनाउन रामपुर नगरपालिकाले व्यावसायिक योजना निर्माण, सिलाइ कटाई, साबुन, सर्फ निर्माण, आलुको चिप्स निर्माण लगायतका तालिम सञ्चालन गर्दैआएको छ ।