सिरहा : बताहा खोला तरेपछि आउँछ, एक हात मात्रै चौडा भएको उकाली ओराली बाटो । जंगलभित्रभित्रै पौने एक घण्टा हिँडेपछि बल्ल पुगिन्छ, खोरिया बस्ती । पूर्व–पश्चिम राजमार्गबाट ५ किलोमिटर दक्षिणस्थित मिर्चैया नगरपालिका–७ मा पर्ने बस्तीमा २४ घर छन् ।
२७ वर्ष पुरानो यो दलित बस्ती राजमार्गबाट उति धेरै पर छैन । तर, बस्तीसम्म गाडी पुग्ने बाटो छैन । न खानेपानीको व्यवस्था छ न त विद्युत् सुविधा । स्थानीय ४१ वर्षीय भीम पाख्रिनले सुनाए, ‘अरु बेला त हिँडेरै घर पुग्छौं । तर, गम्भीर बिरामी हुदा काँधमा बोकेर लैजानुपर्छ । वर्षायाममा बाढी आउँदा गाउँमै थुनिन्छौं । यस्तो बेला बिरामी परियो भने त मर्ने बाँच्ने ठेगान हुँदैन ।’
अघिल्लो वर्षसम्म खोरियाका बासिन्दा पानीका लागि खोला छेउको कुवामा निर्भर थिए । त्यही पानी ल्याउन पनि पौने घण्टा लाग्थ्यो । दुई वर्षयता दाताको सहयोगमा बस्ती छेउमै इनार बनाएपछि उनीहरुको सास्ती घटेको छ । तर, सबै परिवार एउटै इनारमा भर पर्नुपर्दा पानी निकाल्न पनि पालो कुर्नुपर्छ । ‘इनार भए पनि पानी कुवाको जस्तै फोहोर छ,’ ५८ वर्षीया फूलमाया विश्वकर्माले भनिन् । इनार र कुवा दुवैको पानी धमिलो भए पनि स्थानीयसँग अरू विकल्प छैन् । ‘पानी देख्दा खान मन मान्दैन तर, सफा पानी ल्याउनु पनि कहाँबाट ?’ उनले भनिन् ।
बस्तीमा बिजुली नभएकाले सक्नेले सोलार, नसक्ने अधिकांशले टुकीको भरमा काम चलाउँदै आएका छन् । सामुदायिक वनको जग्गामा बस्ती भएकाले स्थानीय सधैं उठिबास लाग्ने त्रासमा हुन्छन् । ‘वन समिति, कर्मचारी र वन पालेहरु आएर जग्गा खाली गर्न दबाब दिँदै आएका छन्,’ ६८ वर्षीय खड्गबहादुर तामाङले भने, ‘जग्गा खाली नगरे घर नै जलाइदिनेसम्मका धम्की दिँदै आएका छन् । तर, जानु कहाँ ?’ बस्तीका धेरैजसो मजदुरी गरेर जीविका धानिरहेका छन् । केही स्थानीय जंगलबाट दाउरा ल्याएर स्थानीय बक्री, मिर्चैयालगायत बजारमा बेचेर गुजारा चलाइरहेका छन् ।
यहाँका १५ बालबालिका जंगलै जंगलको बाटो एक घण्टा हिँडेर फूलबरिया गाउँमा रहेको विद्यालय जान्छन् । बस्तीभन्दा टाढा विद्यालय भएकाले स्कुल नजाने र बीचैमा पढाइ छाड्ने धेरै छन् । ‘पैदल जानुपर्छ, झन् जंगलको बाटो, डर त लाग्छ नै, घाममा त हिँड्नै मुस्किल हुन्छ,’ कक्षा ८ मा पढ्ने मञ्जु तामाङ भन्छिन्, ‘यी कारणहरुले विद्यालय जानै झ्याउ लाग्छ, थुपै साथीहरुले त पढाइ नै छोडिदिए बीचमै ।’
हात्तीमुण्डा सामुदायिक वनमा पर्ने यो बस्तीमा २०५४ सालदेखि घर बन्न थालेको हो । जनयुद्ध चर्किएपछि पहाडी जिल्ला सिन्धुली, उदयपुर, ओखलढुंगालगायत जिल्लाका सर्वसाधारण आए । एक सयभन्दा बढी घर परिवार पुग्यो । तर, अभाव र उठिबास लाग्ने त्रासले अहिले पलायन हुन थालेका छन् । तर, अझै २४ परिवारमा वृद्ध, अधबैंसे र बालबालिका गरी १ सय २० भन्दा बढी नागरिक यहाँ बसोबास गर्छन् ।
डिभिजन वन कार्यालय, सिरहाका प्रमुख सुजितकुमार झा वनको जग्गा भएकाले अतिक्रमणमुक्त गर्न खोजेको बताए । ‘वन बाहिर खाली जग्गा छन्, राज्यले उनीहरुलाई त्यहाँ व्यवस्थापन गर्न सक्छ,’ उनले भने । सरकारले आफूहरुको व्यवस्थापन नगरेकोमा स्थानीयको आक्रोश छ । ‘हामी मतदाता पनि हौं,’ २५ वर्षीया शर्मिला थामी भन्छिन्, ‘भोट लिने बेलामा नेताहरु ताँती लागेर आउँछन् । तर, चुनाव सकिएपछि वास्ता गर्दैनन् ।’
बस्तीको अवस्था सुधारका लागि प्रयास गरे पनि कतैबाट सुनुवाइ नभएको वडाध्यक्ष रामदयाल ठाकुर गुनासो गर्छन् । ‘त्यहाँ समस्यै समस्या छ, नागरिक आधारभूत आवश्यकताबाट पनि वञ्चित छन्,’ उनले भने, ‘हामीले प्रयास पनि गरेका छौं । तर, कतैबाट केही भएन । सबै समस्याको हल वडा मात्रैले गर्न सक्ने कुरा पनि भएन ।’