खोटाङ — साकेला गाउँपालिकामा सञ्चालन गरिएको अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धी घुम्ती शिविरमा २ सय ८१ जनाले सेवा पाएका छन् । अपांगता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा उनीहरूले सेवा पाएका हुन् ।
उक्त शिविरमा एक सय १५ जना नयाालाभग्राहीले अपांगता परिचयपत्र पाएका छन् भने १ सय ७९ जना पुराना लाभग्राहीको प्रतिलिपि जारी गरिएको गाउँपालिकाका सामाजिक शाखाका डिएम चाम्लिङले बताए ।
परिचयपत्र पाइसकेका लाभग्राहीको अद्यावधिक र नयाँ लाभग्राही पहिचानका लागि शिविर आयोजना गरिएको थियो । पालिकाको सबै वडाका लाभग्राहीहरुलाई लक्षित गरी पायक पर्ने ठाउँमा शिविर आयोजना गरिएको थियो । यसअन्तर्गत उक्त गाउँपालिका–१ बाँझेच्यानडाँडामा नयाँ लाभग्राही ३९, २ रतन्छामा २३, ३ खिदिमामा १८, ४ मात्तिममा २० र ५ तल्लो मात्तिममा १५ जना नयाँ लाभग्राही सूचीकृत गरी परिचयपत्र पाएका छन् ।
उक्त गाउँपालिकामा ‘क’ वर्गको रातो कार्ड पाउने अपांगता भएका २९, ‘ख’ वर्गको निलो कार्ड पाउने ६४ जना, ‘ग’ वर्गको पहेँलो कार्ड पाउने ४३ जना, ‘घ’ वर्गको सेतो कार्ड पाउने ४१ जना छन् । यसमध्ये ‘क’ र ‘ख’ को रातो र निलो कार्ड पाउनेलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने व्यवस्था छ । रातो कार्ड पाउने लाभग्राहीले मासिक ३ हजार ‘९’ र निलो कार्ड प्राप्त गर्ने लाभग्राहीले मासिक २ हजार १२८ रूपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारीमा साकेला गाउँपालिकाको पाँचवटै वडामा अपांगता रोकथाम तथा पुनस्स्थापना शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।