वीरगञ्ज : मधेश प्रदेशमा जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्री नियुक्त भएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन आजै सिफारिस गरेको थियो । बहुमत पु¥याएर दाबी पेश गरेपछि प्रदेश प्रमुख भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
सरकारमा सहभागी हुने ६ दलहरूमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ तथा नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एक÷एक मन्त्रालय भागबन्डामा परेको छ ।
एमालेबाट दलका नेता समेत रहेका सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रमोद जैसवाल शिक्षा तथा समाज कल्याण मन्त्री, राजकुमार लेखी युवा तथा खेलकुद मन्त्री बन्दैछन् । एमालेबाट पुनः पुरानै अनुहार मन्त्रीको मौका पाएका छन् ।
यस्तै माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बन्ने भएका छन् । अघिल्लो सरकारमा साह विनाविभागिय मन्त्री थिए । भट्टराई पुनः पर्यटन मन्त्रीमा दोहोरिएका छन् ।
नेकपा एस संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली उर्जा, सिंचाई तथा खानेपानी मन्त्री बन्ने बुझिएको छ । अघिल्लो सरकारमा न्यौपाने र लुंगेली नै मन्त्री बनेकी थिइन् ।
नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्री बन्न लागेकी छन् ।
मुख्यमन्त्री पाएको जनमतले वन तथा वातावरण मन्त्रालय पनि पाएको छ । तर मन्त्री पनि पछि पठाउने बुझिएको छ । जनमतबाट रञ्जु खंग राज्यमन्त्रीको शपथ लिनेछन् ।
आजै मध्यान्ह १२ बजे नवनियुक्त मुख्यमन्त्री सिंहलाई प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । मधेश भवनस्थित कवर्ड हलमा शपथग्रहण समारोह राखिएको छ । स्रोतका अनुसार दलहरूले टुंगो लगाएका सबै मन्त्रीको पनि आजै शपथग्रहण गराइनेछ ।