काठमाडौं । प्रेस चौतारी नेपालले यस वर्षको हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृतिसहित ६ वटै पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ ।
प्रेस चौतारीले यस बर्ष जनताटाइम्स डटकमका सम्पादक यसिमा महितसहित ६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको महासचिव हिरामान लामाले बिज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । महासचिव लामाका अनुसार यस बर्ष हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ ।
यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्वबरिष्ठ उपाध्यक्ष माधव नेपाललाई दिने निर्णय गरेको छ । प्रेस चौतारीले चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट जनताटाइम्सका सम्पादक यसिमा महतलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सम्पादक महत जनताटाइम्सका संस्थापक सम्पादक स्वर्गीय कार्कीका सहकर्मीसमेत हुनुहुन्छ ।
यसैगरी वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारका लागि फणिदेव महत चयन हुनुभएको छ । त्यस्तै, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी, र सावित्रीदेवी– पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिने भएको छ ।
बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहनुभएको सिफारिश समितिले विभिन्न चरणमा बैठक गरी उक्त पुरस्कार छनोट गरेको हो ।
अग्रज पत्रकारको सम्मान र क्रियाशीलको प्रोत्साहनका लागि स्थापित यी पुरस्कार संगठनको २६औं स्थापना दिवसमा भोलि अर्थात माघ २२ गते प्रदान गरिने अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतका अनुसार स्थापना दिवसमा यसपटक प्रवासी नेपाली मञ्च र नेपाल उद्योग तथा ब्यवसायी महासंघसहित समाजका प्रतिष्ठित ब्यक्तिहरुलाई सम्मानित समेत गर्ने कार्यक्रम रहेको छ ।