पछिल्लो एक वर्षको अवधिमा बागमती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ ।
गत वर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो ।
सो अवधिमा ६१ को मृत्यु, एक सय ७७ जना घाइते हुनुका साथै तीन जना बेपत्ता भएका प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रबिता कार्कीले जानकारी दिइन् ।
उनले सोही अवधिमा भएका घटनामा करिब रु ५१ करोडका साथै एक सय ७८ पूर्वाधारको क्षति भएको बताइन् ।
विपद्मा परेर छ सय ३१ पशुचौपाया मरेका मन्त्रालयले जनाएको छ ।
’प्रदेशमा ४ सय ९७ आगलागीका घटना, एक सय २३ स्थानमा वन डढेलो, एक सय ९८ स्थानमा पहिरो गएका छन्,’ अधिकृत कार्कीले भनिन् ।
४२ वटा जनावर आतंक तथा १६ भारी वर्षा भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै बाढी १२, हुरी ११, अन्य गैरप्राकृतिक विपद् तीन, सर्पदंश तीन, हिमपहिरो तीन र एक पटक भूकम्प गएको तथ्याङ्क मन्त्रालयसँग छ ।
बागमती प्रदेश विपद्को दृष्टिकोणले बहुप्रकोपकारुपमा उच्च जोखिममा रहेको कार्कीले बताइन् ।
नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको उनले जानकारी दिइन् ।
दश वर्षको तथ्याङ्क हेर्दा सोही अवधिमा एघार हजार आठ सय ५२ जनाको मृत्यु भएको छ ।
उक्त समयावधिमा भूकम्पमा परेर आठ हजार तीन सय ७०, आगलागीमा चार सय ६९, बाढीमा एक हजार एक सय २८ र पहिरोमा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको अधिकृत कार्कीले जानकारी दिइन् ।
विपद्मा परेर एघार लाख ९९ हजार छ सय १६ मानिस प्रभावित बनेका छन् भने पाँच लाख चार हजार निजी घर क्षतिग्रस्त भएका तथ्याङ्कमा उल्लेख रहेको छ ।
दश वर्षको अवधिमा विपद्मा परेर प्रदेशमा रु सात खर्बको क्षति भएको कार्कीले बताइन् ।
उनका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण रु सात खर्ब ६५ अर्ब ७९ करोड ८८ लाख ४० हजार बराबरको क्षति भएको छ ।