भारत र पाकिस्तानबीच १९ महिनापछि एक अर्काविरुद्ध आज टी–२० विश्वकपमा प्रतिस्पर्धा हुँदैछ।नेपाली समय अनुसार राति ८ः१५ बजे दुई टिमबीच अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुन लागेको हो। समूह ‘ए’मा रहेका दुई टिमबीच यो दोस्रो खेल हो। भारतले यही मैदानमा आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई हराएको थियो। पाकिस्तान भने डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा अमेरिकासँग अप्रत्यासित हारको सामना गर्न पुगेको थियो।
२०२२ मा भारत विजयी
टी–२० विश्वकपकै अघिल्लो संस्करण अर्थात २०२२ मा भएको खेलमा भारत विजयी भएको थियो। पाकिस्तान अमेरिकाको हारसँगै जारी प्रतियोगितामा अघिल्लो चरणको सम्भावना कायम राख्न पनि भारतलाई हराउनु पर्ने दबाबमा रहेको छ।
भारत भने लगातार जित यात्रा कायम राख्दै शीर्ष आठमा पुग्ने लक्ष्यमा रहने छ। १९ महिनाअघि अक्टोबर २०२२ मा दुई टिमबीच अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा भारत विजयी भएको थियो। उक्त खेलमा विराट कोहलीले उत्कृष्ट इनिङ खेल्दा पाकिस्तान पराजित भएको थियो।
टी–२० मा यस्तो छ हेड टु हेडको इतिहास
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच कुल १२ खेल भएका छन्। जसमा ८ खेलमा भारत विजयी हुँदा ३ खेलमा पाकिस्तान विजयी भएको छ। एक खेल टाई भएको थियो। तर उक्त खेलमा भारतले बल–आउटमा जितेको थियो। यदि पछिल्ला पाँच खेललाई आधार मान्ने हो भने भारतले ३ खेलमा जित निकाल्दा पाकिस्तानले २ खेलमा जित हासिल गरेको छ।
टी(२० विश्वकपमा भारत सधैं हावी
टी(२० विश्वकपमा भने भारत सधैं हावी रहँदै आएको छ। अहिलेसम्म भएका ८ खेलमा भारतले ६ खेलमा जित निकाल्दा पाकिस्तानले केवल १ खेलमा जित हासिल गरेको छ। भारतले पाकिस्तानलाई २००७ मा दुई पल्ट पराजित गर्दा २०१२, २०१४, २०१६ र २०१२२ मा पराजित गरेको थियो। पाकिस्तानले भारत विरुद्ध २०२१ मा एक जित निकालेको थियो। यो कुनैपनि टी–२० विश्वकपमा पाकिस्तानको पहिलो र एकमात्र जितका रुपमा रहेको छ।
पाकिस्तानविरुद्ध यी खेलाडी नायक
पाकिस्तानविरुद्ध भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी विराट कोहली हुन्। उनले १० खेलमा १० इनिङबाट ४ सय ८८ रन बनाएका छन्। यस दौरान उनको रन औषत ८१.३३ को रहेको छ। उनले १२३.८५ को स्ट्राइकरेटमा रन बनाइरहेका छन्।
विकेटको हिसाबले भुवनेश्वर कुमार शीर्ष स्थानमा छन्। उनले ७ खेलमा ११ विकेट लिएका छन्। तर अहिले उनी टिममा छैन। अहिले टिममा रहेका हार्दिक पाण्ड्याको पनि ११ विकेट रहेको छ। रोहित शर्माको कप्तानीमा रहेको भारत पाकिस्तानविरुद्ध अर्को जितको प्रयासमा हुनेछ।