नरेन्द्र मोदी भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का सांसद मोदी शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।
मोदीले आइतबार साँझ सवा ७ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई निम्तो गरिएको छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पनि मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो १ बजे नयाँ दिल्लीतर्फ जाने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री मोदीले लोक सभा सदस्य निर्वाचित भएपछि प्रधानमन्त्री दाहालले बधाई दिएका थिए। त्यसबेला भएको फोनवार्तामा पनि शपथग्रहण समारोहमा मोदीले दाहाललाई आमन्त्रण गरेका थिए ।
मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलगायत नयाँ दिल्ली जाने कार्यक्रम छ ।
उनीहरू सोमबार स्वदेश फर्किनेछन् ।
भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सका अनुसार भारतले ‘नेबरहुड फर्स्ट पोलिसी’ अर्थात् छिमेकीलाई प्राथमिकताको नीति राखेर छिमेकी मुलुकका प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेको हो ।
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहमद मुइज्जु, पूर्वीअफ्रिकी मुलुक सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुनेछन्।
मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगुनाथ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई पनि मोदीको शपथ ग्रहण कार्यक्रमका लागि निम्तो गरिएको छ ।
माल्दिभ्सका राष्ट्रपति मुइज्जु, भुटानका प्रधानमन्त्री तोब्गे र मौरिससका प्रधानमन्त्री जगुनाथ भारत पुगिसकेका छन ्।
पछिल्लो समय भारत र माल्दिभ्सबीच सम्बन्ध सुमधुर छैन भन्ने चर्चा थियो। राष्ट्रपति मुइज्जु भारत चीन समर्थक भनेर भारतमा चर्चासमेत हुने गरेका थिए ।
उनी राष्ट्रपति नियुक्त हुँदा मोदी लक्ष्यदीप पुगेका थिए। त्यसबेला माल्दिभ्सको सट्टामा भारतले लक्ष्यदीप घुमौं भनेर प्रचारसमेत गरिएको थियो ।
विपक्षी दल कंग्रेस आईका अध्यक्ष मालिकार्जुन खार्जे पनि शपथ ग्रहण कार्यक्रममा सहभागी हुँदैछन्। मोदीले आफ्नो क्याबिनेटमा २७ देखि ३० मन्त्रीहरू राख्ने तयारी गरेका छन् ।
दुई पटक बहुमतको सरकार बनाएर प्रधानमन्त्री बनेका मोदी यसपालि बिहारका मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू नेतृत्वको तेलेगु देसम पार्टी (टिडिपी) लगायतको साथ लिएर प्रधानमन्त्री बनेका हुन् ।
भारतमा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ। भाजपाले उक्त बहुमत ल्याउन नसकेपछि गठबन्धनको सरकार बनाउन लागेको हो। भाजपाले २४० सिट मात्रै जितेको थियो ।
भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) ले २९३ सिट जितेको थियो भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितेको थियो ।