काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा केही दिन अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा मधेश प्रदेका अधिकांस जिल्लाहरुमा गर्मी बढ्न सक्ने भएकोले सचेत रहन अपिल गरेको हो ।
उनले तराईका भूभागमा सोमबारसम्म तातो हावासँगै तातो लहर ‘लू’ को उच्च सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेका छन् । मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४.२ डिग्री र धनगढीमा ४४.१ डिग्री तापक्रम मापन भएको थियो ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ ।
तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ ।