स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सर्वोच्च अदालतमा विचाराधिन नारायणी अस्पतालको ५ सय शैया भवन निर्माणको मुद्दालाई फास्ट ट्रयाकमा टुङगो लगाउन आँफु लागि परेको बताएका छन् ।
नारायणी अस्पतालको मंगलबार अनुगमन गरेपछि वीरगन्ज महानगरका मेयर ,अस्पताल विकास समितिका अध्यक्ष र मेसुसंग छलफल गर्ने क्रममा मन्त्री यादवले उक्त जानकारी गराएका हुन् ।
नारायणी अस्पतालमा थप ५ सय शैयाको सुविधासम्पन्न भवन निर्माण सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा चार बर्षदेखि विचाराधिन रहेको छ । भवन निर्माण सम्बन्धि टेण्डर आह्वानको विषयलाई लिएर केहि निर्माण कम्पनिले सर्वोच्चमा रिट हालेपछि चार बर्षददेखि उक्त मुद्दा विचारधिन रहेको छ ।
मंगलबारको छलफलमा मन्त्री यादवले अदालतमा विचाराधीन रहेको अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्रयाकमा सम्बोधन गर्न आफू लागिपरेको बताए ।उनले भने, ‘अस्पतालको भवन निर्माणका लागि सबै प्रक्रिया अगाडि बढेपनि केही स्वार्थी व्यक्तिले अदालतमा मुद्दा हालेको कारण काम अगाडि बढेको छैन । मैले प्रधानमन्त्री र कानुन मन्त्रीसँग भेटेर फास्ट ट्रयाकमा मुद्दाको फैसला गर्न आग्रह गरेको छु । मुद्दा फैसला भएसँगै भवन निर्माणको काम द्रुतगतिमा अगाडि बढ्ने उनले बताए ।
मन्त्री यादवले अस्पतालको पूर्वाधार स्तरोन्नत्तीदेखि औषधि उपकरण खरिदका लागि पनि आफूले मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरेको जानकारी दिए ।मन्त्री यादवले छलफलमा सहभागी वीरगन्जका मेयर राजेशमान सिंह र अस्पतालका निमित्त मेसु डा। एनामुल हकलाई अस्पतालका विद्यमान समस्याहरूको सूची तयार पारेर छिटै मन्त्रालय आउन निर्देशन पनि दिए।उनले भने ‘मेसु सा’ब समस्याहरूको सूचीसँगै तत्कालै, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको एउटा रिपोर्ट तयार पारेर तपाईहरु मन्त्रालय आउनुहोस् । बजेट व्यवस्थापन मेरो जिम्मामा छ । के गर्नुपर्छ गर्छु तर नारायणी अस्पतालमा सुधार हुन्छ ।’
मंगलबार अनुगमनका क्रममा मन्त्री यादवले नारायणी अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गरेका थिए । अनुगमनकै क्रममा मन्त्री यादवले बिरामीले सुनाएका गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न अस्पतालका निमित्त मेसु हकलाई निर्देशन दिए।उनले फार्मेसीमा औषधीको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि आउने बरामीको सहजताका निमित्त टिकट काउन्टर थप्दै टिकट कााउन्टरलाई वातानुकूलित बनाउनपनि निर्देशन दिए।
त्यसअअघि निमित्त मेसु हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौँ बितिसक्दा पनि कर्मचारी दरबन्दी सय बेड अनुसार कै रहेको जानकारी मन्त्री यादवलाई गराएका थिए । ‘दरबन्दी नहुँदा जनशक्ति अभाव छ । हामीले अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न सकेका छैनौँ । बेड अनुसारको दरबन्दी कायम गर्न मेरो आग्रह छ,’ हकले भने ,‘त्यस्तै क्वाटर, मेसिनरी र अन्य पूर्वाधार अभाव लगायतका समस्या पनि छन् ।
अनुगमनमा मन्त्री यादवसंगै सहभागी रहेका वीरगन्जका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई आफ्नो प्रमुख एजेण्डा बनाएर काम गर्न मन्त्री यादवसँग आग्रह गरे । त्यसका लागि आवश्यक सम्पूर्ण सहयोग वीरगन्ज महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
मेयर सिंहले कर्मचारी क्वाटर निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा समेत गरे। ‘मन्त्रीज्यूले बजेटको सुनिश्चितता गर्नुहोस्, क्वाटर र अन्य पूर्वाधार निर्माणका लागि जग्गा महानगरपालिकाबाट म उपलब्ध गराउँछु,’ उनले भने ।
अनुगमनमा अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी लगायतकोपनि सहभागिता रहेको थियो ।
मधेश खबर