अन्जनीकुमार अधिकारी, उदयपुर । नेकपा एमाले उदयपुरले जिल्लाका आठवटै पालिकाको एक साथ अधिबेशन सम्पन्न गरेको छ ।
एमाले उदयपुरको नवौं अधिबेशनमार्फत नयाँ नेतृत्व आएसँगै पार्टीलाई नयाँ उचाई दिने सोचका साथ एमाले उदयपुरले आफ्नो गतिबिधि सुरु गरेको हो ।
एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जिल्लाका आठै पालिकामा उत्साहपूर्ण रुपमा एकसाथ अधिबेशन सफल रुपमा सम्पन्न गरेको बताउनु भयो । जेष्ठ २५ गते जिल्लाका आठै पालिकामा एक साथ उदघाटन भएको दोस्रो अधिवेशनले केही पालिकामाबाहेक सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको एमाले उदयपुरले जनाएको छ ।
पालिका अधिबेशन अन्तर्गत जिल्लाको चार नगरपालिका मध्ये बेलका नगरपालिकामा अध्यक्षमा हिरा जंग राई सर्वसम्मत चयन भए भने उपाध्यक्ष, सचिव र उपसचिवमा भने निर्वाचन भएको थियो बेलकामा सदस्यहरु समेत सर्वसम्मत हुँदा ७५ सदस्य नगर कमिटी गठन भएको थिए । यस्तै चौदण्डीगढी नगरपालिकामा पदाधिकारीमा मात्र निर्वाचन हुँदा सदस्यहरु सर्वसम्मत चयन भएका थिए । चौदण्डीगढीको अध्यक्षमा विकास बन्जारा निर्वाचित हुँदा ७५ सदस्य नगर कमिटी निर्माण भएको थियो ।
जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा भने लामो छलफल र संवाद पश्चात नेतृत्वले पदाधिकारी र सदस्य सर्वसम्मत चयन गर्न सफल भएको थियो ।त्रियुगामा विश्वराज भट्टराई अध्यक्ष रहेको ७५ सदस्य कमिटी चयन भएको छ । कटारी नगरपालिकामा पनि नेत्रश्रेष्ठको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी सर्वसम्मत चयन भएको थियो ।
जिल्लाका चार गाउँपालिका मध्ये ताप्ली गाउँपालिकामा अध्यक्ष बाहेक पदमा सर्वसम्मत कमिटी चयन हुँदा अध्यक्षमा तोप बहादुर ज्यू ठकुरी निर्वाचित भए उनको नेतृत्वमा ३५ सदस्य पालिका कमिटी गठन भएको थियो ।
लिम्चुङबुङ गाउँपालिकामा ज्ञानबहादुर राईको अध्यक्षतामा सर्वसम्मत रुपमा ३५ सदस्य पालिका कमिटी चयन भएको थियो । रौतामाई गाउँपालिकामा ललित मगरको अध्यक्षतामा ७५ सदस्य सर्वसम्मत कमिटी चयन हुँदा उदयपुरगढी गाउँपालिका यम्बर बहादुर खत्रीको अध्यक्षतामा ५७ सदस्य पालिका कमिटी चयन भएको एमाले उदयपुरका उपसचिव हेम खड्काले जानकारी दिनुभयो ।
नेकपा एमाले उदयपुरका सचिव टेक बहादुर राउतका अनुसार जिल्लाका ७५ ओटै वडामा एक साथ यही जेष्ठ ३१ र असार १ गते वडा अधिबेशन समेत सम्पन्न हुनेछ ।