काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनु पर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ ।
दुई दिन अगाडी काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीडेटको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो ।
खाद्यान्न ढुवानीसँगै रहनु भएका लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नवीन आचार्यले रसुवागढीबाट केरुङ नाका हुँदै हिल्साका लागि खाद्यान्न चिनियाँ गाडीमा ढुवानी सुरु भएको बताउनुभयो ।
लिमिटेडले हुम्लाका लागि उक्त नाका भएर पनि खाद्यान्न ढुवानी गर्दै आएको छ । सो मार्ग भएर यस आर्थिक वर्षमा पाँच हजार क्विन्टल खाद्यान्न कोटा रहेको थियो । उहाँले पहिले हिमपातले सडक अवरुद्ध भएको र हाल बाटो पनि खुलेको तथा दूतावासबाट कागजात मिलाउने कार्य भएपछि खाद्यान्न ढुवानी सुरु गरिएको बताउनुभयो ।
उहाँले केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनियाँ मालबहाक गाडीले पाँच दिन लगाएर खाद्यान्न हिल्सामा पुर्याउने र हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य गरिने बताउनुभयो ।
जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्न मध्य एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि याल्वाङमा छोडिने र चार हजार क्विन्टल सिमकोटका लागि ढुवानी हुनेछ । यसका लागि लिमिटेडले थापाथली हुँदै याल्वाङसम्म प्रतिकेजी ४८ रुपियाँ र सिमकोटसम्म प्रतिकेजी ६२ रुपियाँमा ढुवानी दर तिर्नेछ ।
यो खाद्यान्न सप्लार्य मार्फत ढुवानी भएको हो । चिनियाँ दश वटा मालवहाक गाडीले प्रतिग गाडी पाँच सय क्विन्टल खाद्यान्न हिल्सासम्म ढुवानी गर्नेछन् । यो खाद्यान्न सिमकोट र याल्वाङमा ढुवानी भएर आई पुगे खाद्यान्न् भण्डारण अझै मजबुत हुनेछ ।