विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह ९जी–७० ले युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटाएका छन् ।
इटालीमा हिजोदेखि शुरु भएको जी–७ को ५० औँ शिखर सम्मेलनमा युक्रेनलाई सहयोग जुटाउने विषयमा सहमति जुटेको बीबीसीले जनाएको छ । यो ऋण सहयोग युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्ने छ ।
सहमतिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यो रुसका लागि हामी पछि हटेका छैनौँ भन्ने चेतावनी भएको बताउनुभएको खबरमा उल्लेख छ । यद्दपि रुसले यो ऋण सहयोगको सहमतिलाई लिएर यो नतिजा ‘निकै पीडादायी’ हुने बताएको छ ।
यो वर्षको अन्त्यसम्ममा यो ऋण सहयोग जुट्ने आशा नभएको बताइएको छ । तर यसलाई युक्रेनको युद्धको तयारी र उनीहरूको अर्थतन्त्रलाई सहयोग गर्ने दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली सङ्घका सार्थ जी–७ ले झन्डै ३२५ अर्ब डलर बराबरको रुसको सम्पत्ति रोक्का गरेका थिए ।
इटालीमा चलिरहेको जी–७ शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षका लागि द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर गर्नुभएको छ । यो सम्झौतालाई युक्रेनले ‘ऐतिहासिक’ बताएको खबरमा उल्लेख छ ।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधि सम्मिलित सम्मेलन भोलि शनिवारसम्म चल्नेछ ।